
कात्तिक १९ गते ।
बेलायतमा भेटिएका ३९ जनाको शवको घटनामा संलग्न रहेको आशंकामा भियतनामी प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धानका लागि ८ जना पक्राउ परेको भियतनामी सञ्चार माध्यमले जनाएको छ । शव फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई यस अघि बेलायती प्रहरीले पक्राउ गरेको थियो ।
बेलायतको राजधानी लण्डनदेखि पूर्व ग्रेज एसेक्सको औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र गत अक्टोबर २३ मा ३९ जनाको शव फेला परेको थियो । ती शव कुन देशका नागरिकको हो भन्ने अझै खुलेको छैन ।
फेला परेका शवमध्ये ३१ पुरूष र ८ जना महिला छन् । मृत्युको कारण पत्ता लगाउन हाल शव परीक्षण भइरहेको जनाइएको छ ।
