
पूर्णपुष्टि, साउन ६ गते ।
विभिन्न तीन जिल्लामा तीन जनाको शव फेला परेको छ । काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका थिए ।
त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । रुपा गाउँपालिका–६ रुपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए ।
यता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।
