
पूर्णपुष्टि, बैशाख ४ । भोजपुरमा ३ बर्ष ८ महिना कैद सजाय काटेर छुटेका व्यक्ति पुन लुटपाट अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको मैयुङ गाउँपालिका–१ का ३७ बर्षीय सुमित भन्ने सुमन परियार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गत आईतबार षडानन्द नगरपालिका ९ स्थितमा रहेको जंगलमा सोही नगरपालिका–२ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक व्यक्ति फरार भएका थिए । लुटपाट भएको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका ८ बजे सोही जंगलमा परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको प्रहरीले जनाएको छ । परियार नेकपा बिप्लब समुहबाट नेकपा बहुमद समुह हुदै हाल बैध समुहमा आबद्ध रहेको प्रहरीको भनाई छ । परीयार २०७६ माघ २१ गते संगठीत अपराध, अपराधिक उपद्रव, ncell टावर आगजनी, jcb आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
