खबर विस्तृत…
१.
उदयपुरमा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । ६४ जनाको एन्टिजेन परिक्षण गर्दा १२ महिला र २४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, चौदण्डीगढीको १६ र बेलकाको १ जना रहेका छन् ।
योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ६४ पुगेको छ । पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५२२, चौदण्डीगढीमा १२५, र बेलकामा ११९ पुगेको छ । साथै कटारीमा ११४, रौतामाईमा ७८, ५९, उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् ।
२
उदयपुरमा आज १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको १०, त्रियुगाको २, बेलकाको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २६३ पुगेको छ ।
३
आज २ जना कारोनाले मृत्य भएकाको संख्या थपिएको छ । त्रियुगा नगरपालिका ११ को २७ वर्षिय पुरुषको र लिम्चुङबुङ गाउँपालिका २ का ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । दुबैजनाको हिजो मृत्यु भएको हो । योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
मृत्यु संख्या सबैभन्दा बढि त्रियुगामा २३ रहेको छ । त्यसपछि चौदण्डीगढीमा ६, कटारी ३, बेलका २, उदयपुरगढी ३, रौतामाई १ र लिम्चुङबुङ १ रहेका छन् ।
४
उदयपुरमा एकै परिवारको तीन सदस्यको कोरोनाले ज्यान गएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीको एकै परिवारको ३ सदस्यहरुको मृत्यु भएको हो । ६ दिनभित्रमै परिवारको आमा, जेठो छोरो र साइलो छोरोको मृत्यु भएको हो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आमा ७१ वर्षिय तिलमाया मश्राङ्गी मगरको आज विहान होम आइसोलेशनमै मृत्यु भएको हो । जेठो छोरो ५१ वर्षिय पुष्कल मगरको गत १८ गते नोबेल हस्पिटल विराटनगरमा र साइलो छोरो ४५ वर्षिय तुलबहादुर मगरको १५ गते विराट हस्पिटल विराटनगरमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जनता माध्यामिक विद्यालय मुकुर्चका प्राचार्य खड्ग मगरका अनुसार आमा तुलमायासहित तीनछोराको कोरोना परिक्षण हुदा पोजेटिभ देखिएपछि गाईघाटस्थित मदनमण्डारी आँखा अस्पतालमा उपचारमा राखिएको थियो । त्यहाँ जेठो र साइलोको स्वास्थ्य अवस्था जटिल देखिएपछि आइसियुमा उपचारका लागि विराटनगर लगिएको थियो । अर्का कान्छो छोरो भने निको भएर घर फर्किए भने आमा तुलमायालाई होम आइसोलेशनमा लगिएको थियो ।
घरमै अक्सिजन लिदै रहनु भएकी आमाको आज विहान मृत्यु भएको थियो । जेठो पुष्कल ब्यवसायी थिए भने साइलो समाजसेवी थिए । मगर परिवारको एकै घरमा तीनजनाको मृत्युले मुर्कुची शोकमा डुबेको छ ।
५
जिल्ला प्रशासन कार्यालय उदयपुरले फेरी ७ दिनका लागि निशेधाज्ञ थप्ने निर्णय गरेको छ । आज बसेको बैंठकले आगामी २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञ थपेको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईका अनुसार जिल्लाको कोरोना संक्रमणको स्थितिलाई मध्येनजर गर्दै निशेधाज्ञ थपिएको हो ।
हालको निशेधाज्ञमा निर्माणको कामलाई केही सहजिकरण गरेको छ । आर्थिकवर्षको अन्तिम समय भएको कुलाई मध्येनजर गर्दै निर्माण सामाग्री ढुवानीका लागि साँझ ५ देखि विहान ५ बजेसम्म खुल्ला गरेको छ । बैंक तथा वित्तिय क्षेत्र हप्ताको तीनदिन आइतबार, मंगलबार र विहिबार खोल्ने निर्णय भएको छ । बाँकी सबै नियमहरु यथावत रहेको जनाइएको छ ।
६
यसैबीच प्रशासनमा बसेको बैंठकले जिल्लाको कोरोना अवस्था र कोरोना विरुद्धको गतिविधिको समिक्षा गरेको छ । जिल्लामा कोरोना परिषणको दायरा बढाउनु, अझैपनि एन्टिजेन किटको पर्याप्त उपलब्धता हुनु, अक्सिजनको पर्याप्त उपलब्धता हुनु र कोरोना विरुद्धको लडाइमा सबैको एकता हुनु राम्रो पक्ष उल्लेख गरिएको छ ।
लक्षण भएर पनि नागरिकहरु परिक्षणमा नआउने, संक्रमितहरु संस्थागत आइसोलेशनमा आउन नमान्ने चुनौतीको रुपमा लिइएको छ ।
होम आइसोलेशनमा बसेकालाई पर्याप्त स्वास्थ्यकर्मी तथा चिकित्सकको परामर्श, मनोसामाजिक परामर्शकर्ताहरुबाट मनोविमर्शलाई बढाउदा कोरोनाप्रतिको डर, त्रास र गलत धारणा हट्ने देखिएको छ ।
७
होमआइसोलेशन बाध्यता कि आवश्यकता भन्ने सन्दर्भमा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले कतिपय अवस्थामा बाध्यता भएपनि संक्रमितलाई हेरचाह र राम्रो वातावरण लागि होम आइसोलेशन उपयुक्त देखिएको बताउनुभएको छ ।
प्रजिअ सेढाईका अनुसार उदयपुरमा होम आइसोलेशनमा बसेरै धेरैजसो संक्रमित निको भइरहेका छन् । घरका सदस्यले राम्रो हेरचाह गर्ने र शान्त वातावरण हुने हुदा उपयुक्त देखिएको हो । सबै संक्रमितलाई संस्थागत आइसोलेशनमा राख्न सक्ने राज्यको क्षमता नरहेकोले लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएकालाई होम आइसोलेशनमा राख्ने सरकारी नीति बनेको प्रजिअ सेढाइको भनाइ छ ।
होमआइसोलेशनमा भएपनि स्वास्थ्यकर्मी र चिकित्सकको परामर्श लिइरहनु पर्ने र स्वास्थ्य समस्या आएमा अस्पताल जान उहाँको सल्लाह छ । यसो गरेमा संक्रमितले समयमै उपचार पाएर बाँच्न सक्दछ । तर, समस्या भित्रभित्रै लुकाएर फोक्सो, कलेजोमा असर पुगेमा राम्रो अस्पताल र उपचार भएपनि बाँच्न नसक्ने कुराप्रति उहाँले सचेत गराउनु भएको छ ।
८
अव देशको कोरोना अपडेट
नेपालमा आज ५ हजार ९०४ जनाले कोरोनालाई जितेका छन् । योसंगै नेपालमा कुल निको हुनेको संख्या ४ लाख ६७ ह्जार ४६७ पुगेको छ ।
नेपालमा आज ६ हजार ८२५ जना संक्रमित थपिदा कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । आज ७५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ७ हजार ६३० पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ । नेपालमा सक्रिय संक्रमित क्रमश घडिरहेको छ ।
९
अव विश्व कोरोना अपडेटको पालो
विश्वमा आज पनि संक्रमित थपिने भन्दा निको हुनेकै संख्या बढी छ । ५ लाख ३० हजार ८३४ जना संक्रमित थपिएको छ । यो संगै विश्वमा कुल संक्रमितको संख्या १७ करोड २४ लाख ९३ हजार २९० पुगेको छ ।
निको हुनेको संख्या ६ लाख ७८ हजार ९७० थपिएको छ । योसंगै विश्वमा निको हुनेको संख्या १५ करोड ५१ लाख ५४ हजार ८२५ पुगेको छ ।
विश्वमा मृत्यु हुनेको संख्या ३७ लाख ८ हजार ३३४ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड, ३६ लाख ३० हजार १३१ रहेको छ ।
कोरोना विरूद्ध गतिविधि खबरहरु
१०
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज निशेधाज्ञको अवज्ञा गर्ने ४१ वटा सवारी साधनलाई कारवाही गरेको छ । प्रहरीले नियमित अनुगमन, निगरानी र कारवाहीका साथै जनचेतनाको कार्य पनि गरिरहेको जिल्ला प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
११
लिम्चुङबुङ गाउँपालिकाले जेठ २९ गतेसम्मका लागि सेवा बन्द गरेको छ । कोरोना संक्रमणको जटिलतालाई मध्येनजर गर्दै पालिका प्रमुखको सिफारिस बाहेकका कामहरु बन्द गरेको छ ।
पालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको हिजो बसेको बैंठकले निर्णय गर्दै सेवाहरु बन्द गरेको हो ।
१२
यसैबीच पालिकाको सबै वडामा संक्रमण फैलिएको र एकजना संक्रमितको मृत्यु भएको कारण पालिका सिल भएको छ ।
पालिकाका अध्यक्ष मेजरकुमार राईले निशेधाज्ञलाई कडाईका साथ पालना गर्न निर्देश गरेका छन् । अवज्ञा गर्नेलाई कारवाही तथा जरिवाना हुने जनाइएको छ ।
पालिकाले मास्क नलगाइ हिडडुल गर्नेलाई ५० रुपैया, अनावश्यक हिडेको दुई पांग्रे सवारीलाई १ हजार रुपैया, होमआइसोलेशन नबसी हिड्नेलाई ५०० रुपैया जरिवाना तोकेको छ ।
१३
यसैबीच पालिकाले आवागमन नै ठप्प पार्ने निर्णय गरेको छ । पालिका अध्यक्ष मेजरकुमार राईका अनुसार खाद्यान्न, औषधी र उपचार बाहेकको हकमा सम्पूर्णरुपले आवागमन ठप्प पार्ने निर्णय भएको हो ।
१४
ताप्ली गाउँपालिका स्तरीय विपद् ब्यवस्थापन समितिले होटल तथा बजार बन्द गराएको छ । हिजो बसेको बैंठकको निर्णय बमोजिमा पालिका क्षेत्रका होटल, बजार बन्द गराएको हो ।
खाद्यान्न, किराना पसललाई भने निश्चित समय तोकिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाका अनुसार विहान ८ देखि ११ र बेलुका ५ देखि ८ बजेसम्म मात्र खुल्न पाउने तोकिएको छ ।
१५
बेलका नगरपालिकामा अक्सिजन प्लान्ट निर्माणका लागि सोही पालिका वडा नं. २ का कमल चामलिङले ५ हजार ४३२ रुपैया आर्थिक सहयोग गरेका छन् । हाल बैदेशिक रोजगारको क्रममा रहेका राईले पालिकाका मेयर दुर्गाकुमार थापालाई रकम प्रदान गरेका हुन् ।
१६
सगरमाथा आयुर्वेद अस्पताल गाईघाटले बेलका नगरपालिकाका कोरोना संक्रमितहरुका लागि आयुर्वेदिक औषधी उपलब्ध गराएको छ । अस्पतालकाले १०० जनाका लागि औषधि हस्तान्तरण गरेको पालिकाका मेयर थापाले जानकारी दिएका छन् ।
१७
हुरेण्डेक उदयपुरको आयोजना, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र वल्र्ड नेवर्स नेपालको सहयोगमा उदयपुर जिल्लाको स्थानिय तह, स्वास्थ्य केन्द्र र अग्रपंतीमा रहेर काम गर्ने कार्यलयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
अक्सिजन सिलिण्डर १२ थान, एन्टीजिन किट २०० वटा, अक्सिमिटर १६ वटा, सर्जिकल माक्स ३५० प्याकेट, सेनिटाईजर लगायत वितरण गरिएके हुरेण्डेक उदपुरको अध्यक्ष शंकर बहादुर थापाले जानकारी दिनुभयो ।
१८
धरानस्थित बृटिस वेलफेयरले बेलका नगर अस्पताल र कोभिड अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । वेलफेयरले स्वास्थ्यकर्मीका लागि पिपिइसेट लगायतका किट तथा अन्य स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो । वेलफेयरका पूर्ण लिम्बुले पालिकालाई हस्तान्तरण गरेको मेयर थापाले जानकारी दिएका छन् । उदयपुरको अन्य अस्पतालहरुलाईसमेत स्वास्थ्य सामग्री हस्तान्तरणको कार्यक्रम रहको लिम्बुले बताएका छन् ।
