Wednesday, April 22News That Matters

अभौतिक मुद्रा कारोबारमा संलग्न ६ जना पक्राउ

पूर्णपुष्टि, असार २१ । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट अभौतिक मुद्रा प्रयोग गरी कारोबार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ बर्षीय शिब शंकर यादब,राजगढ गाउँपालिका–३ का २०बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ बर्षीय रन्जित कुमार यादब, बिराटनगर–१६ का ३० बर्षीय जनार्दन यादब, २६ बर्षीयसिकिन्दर यादबर सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन ।

असार १९ गते अपरान्ह प्राप्त विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा मारेको थियो। बिराटनगर–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तलामा भाडामा लिइएका ४ वटा कोठामा अभौतिक मुद्राको कारोबार भइरहेको पाइएको थियो।
खानतलासीका क्रममा प्रहरीले निम्न सामग्रीहरू बरामद गरेको छ :

१६ थान मोबाइल
४४ थान विभिन्न बैंकका ATM कार्ड
१३ थान भारतीय र १९ थान नेपाली सिम कार्ड
२८ थान विभिन्न बैंकका चेक
१५ थान विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर
३ थान मोटरसाइकल
१ थान इलेक्ट्रिक फिंगर प्रिन्ट मेशिन
नगद रु. १,६००

पक्राउ परेका व्यक्तिहरूको इलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान भइरहेको जनाइएको छ।