
पूर्णपुष्टि, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यो कदम चालेका हुन्।
प्रधानमन्त्रीले शुक्रबार संघीय संसदका महासचिवलाई पत्र पठाएर असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने विषय समावेश गर्न अनुरोध गरेका छन्। संविधानको धारा १०० को उपधारा ९२० अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।
यसअघि असार १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि एमालेले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो। कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे पनि उनले संसदमार्फत विश्वासको मत लिने निर्णय गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरे नगरेको र त्यसपछिको राजनीतिक परिदृश्यले नेपालको राजनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
