Sunday, April 19News That Matters

उदयपुरमा आदिवासी जनजाति महासंघको कार्यविभाजन सम्पन्न

पूर्णपुष्टि, भदौ २० । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल उदयपुर जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक बुधबार सम्पन्न भएको छ। बैठकले जिम्मेवारी बाँडफाँड, सचिवालय गठन लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ।

अध्यक्ष राजकुमार राई कोयुले पेश गरेका आठ वटा प्रस्तावमाथि छलफल गरी बैठकले विभिन्न निर्णयहरू लिएको छ। बैठकले सात वटा विभाग गठन गरेको छ, जसमध्ये संगठन विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष राईले नै लिएका छन्।

अन्य विभागहरूमा आर्थिक तथा योजना विभागमा पर्शुराम चौधरी, महिला, युवा तथा खेलकुदमा तारा जोशी, प्रचार–प्रसार तथा प्रकाशनमा हेमबहादुर तामाङ, स्कुल, तालिम तथा प्रशिक्षणमा राजु तुलाधर, घटक संगठन समन्वय तथा परिचालनमा उदय भुजेल र कला, संस्कृति, मातृभाषा संरक्षण विभागमा तारा मगरले प्रमुखको जिम्मेवारी पाएका छन्।

बैठकले १७ सदस्यीय जिल्ला कमिटी सचिवालय गठन गरेको छ। साथै, अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति समीक्षा गरी बाँकी कार्यहरू पूरा गर्न योजना अघि सारेको छ।

अध्यक्ष राईका अनुसार रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका र कटारी नगरपालिकामा आगामी पुस १५ भित्र अधिवेशन सम्पन्न गर्ने र लोकतान्त्रिक मगर संघ तथा नेवा संघको जिल्ला अधिवेशन माघ मसान्तभित्र गर्ने निर्णय भएको छ।

बैठकले महासंघमा आबद्ध नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न दुवै संघीय निर्वाचन क्षेत्रस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाहरूमा सदस्यता विस्तार गर्ने निर्णय गरेको छ।
बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटी सदस्य प्रकाशकुमार बस्नेत लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।