
उदयपुरमा जंगली हात्तीको आतंक : ११ परिवार प्रभावित, १६ लाख वढिको क्षति
पूर्णपुष्टि/उदयपुर, असार १५ ।
उदयपुरको चौढण्डीगढी नगरपालिकाका विभिन्न बस्तीमा जंगली हात्ती पसेर घर, अन्नबाली तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक प्रभाव लिम्बुका अनुसार असार १३ यता लगातार राती वडा नं. ४ र ७ मा पसेका हात्तीले १३ परिवारको घर तथा सम्पत्तिमा क्षति पुर्याउँदा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ।
पहात्तीले घरका टिन तथा टाटीका बेरा भत्काउनुका साथै धान, चामल, मकै, लत्ताकपडा, भाँडावर्तन, कुखुरा तथा परेवाको खोर र बालीनालीमा समेत क्षति पुर्याएको हो। घटना लगत्तै इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको थियो।
सबैभन्दा बढी क्षति वडा नं. ७ को लामाचौरी क्षेत्रमा भएको छ। वृद्धीमाया राईको घर तथा अन्नपातमा करिब ४ लाख रुपैयाँ, लक्ष्मी विकको ३ लाख रुपैयाँ, बमबहादुर विक, रोशन विक र वीरबहादुर मगरको जनही २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै खिलबहादुर मगर र राधा विकको जनही १ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।
वडा नं. ४ मा असुन्ता राई, सारदा राई, दुर्गाबहादुर बस्नेत र सरस्वती राईको घर तथा कृषि सामग्रीमा २० हजारदेखि ५० हजार रुपैयाँसम्मको क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टा नजिकै दुई घरमा गए राती क्षति पुर्याएको छ। हरिबहादुर राउत र मदन परियारको घरमा क्षति पुर्याएको हो ।
गाउँमै हात्ती पसेर पटक–पटक क्षति गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । प्रभावित परिवारहरूले तत्काल राहत, उचित क्षतिपूर्ति तथा जंगली हात्तीको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
पूर्वी तर्फबाट आएको हात्तीको समूह पश्चिम तर्फ बढेको छ । दिनभर जङ्गलमै लुकेर बस्ने हाती राति भोक प्यास मेटाउन गाउँ पस्ने गरेको र अन्नपात बालीनाली क्षति गर्ने गरेको छ । त्यस क्रममा घर समेत भत्काउने गरेको छ । मानिसलाई ज्यान जोगाउन जोखिम बढेको छ भने हिनडुल गर्न त्रास बढेको छ ।
