‘……पार्टीका पत्रकार ज्यू !’
दमन राई
सानोछँदा रेडियो नेपालको घटना र विचार नछुटाई सुन्ने गर्थेँ । जोसिलो स्वरमा फरर्र खबर वाचन गरेको मलाई औधी मनपथ्र्यो । मावलीमा बस्दा हजुरबाको रेडियो सुनेर ममा रेडियोप्रतिको प्रेम सुरु भएको थियो । रेडियो सुन्दा रेडियोभित्र कत्रा–कत्रा मान्छे होलान्जस्तो लाग्थ्यो । कहिलेकहीँ त हजुरबाले जे बोल्नुहुन्छ त्यही कुरा रेडियोमा सुनिन्छ जस्तो पनि लाग्थ्यो । साँझमा बालबाटिका होस् या बेलुका प्रहरी कार्यक्रममा आउने सन्देशमुलक नाटक सकेसम्म छुटाउन मनले मान्दैनथ्यो । गाउँकै एकजना भाईको सानो रेडियो किन्नका लागि आमालाई रोईकराई गरेको अहिलेजस्तो लाग्छ । साथमा पैसा थिएन । आमाले गाउँमै सरसापटी गरेर जुटाउनु भएको पैसाले रेडियो हातमा पर्दा फुरुङ्ग बनेको थिएँ । जे होस् एक किसिमले सानैदेखि रेडियोप्रेमी बनेको थिएँ । बेलुकाको ७ बजेपछि प्रशारण हुने घटना र बिचारको वाचन र शैली सुन्दा ‘यसरी नै बोल्न पाए हुन्थ्यो’ ...







