
उदयपुर, कार्तिक ३०
नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समुह) ले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव उदयपुरमा देखिएको छ ।
बन्दले जिल्लाको यातायात सेवा प्रभावित बनेको छ । लामो दुरीका यातायात साधनहरु ठप्प छन् भने स्थानीय क्षेत्रमा फाटफुटरुपमावाहेक चलेका छ्रैनन् । सदरमुकाम गाईघाट क्षेत्रको बजार, पसलहरु बन्द छन् । कटारी, बेल्टार वजारका बजार, पसल पनि बन्द छन् ।
विहानदेखि नै सो पार्टीका कार्यकर्ताहरु बजारमा घुम्दै बन्द गराएका छन् । बन्दको पूर्वसन्ध्यामा हिजो कटारीमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।
स्थानीय प्रशासनले बजार क्षेत्रमा सुरक्षा तैनाथ गरेको छ । बन्दमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बजार क्षेत्रमा तैनाथ रहेका छन् ।
सरकारले सर्बसाधारण जनताको ढाड सेक्ने गरी मुल्यबृद्धि गरेकाले विरोध गरिएको सो पार्टीका जिल्ला नेता लक्ष्मण पौडेलले बताए । उनले शान्तिपूर्ण ढंगले बन्दको कार्यक्रम गरिने बताएका छन् ।
