
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २४ । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलस्थित मदनभण्डारी राजमार्ग छेउमा अचेत अवस्थामा फेला परी उपचारको क्रममा मृत्यु भएको पूरुषको पहिचान खुलेको छ ।
गत कार्तिक १० गते राती साढेँ ७ बजेको समयमा अचेत अवस्थामा फेला परेका पूरुष त्रियुगा नगरपालिका–२ मोतियाही बस्ने अन्दाजी ७५ बर्षीय छेक बहादुर कुमाल भन्ने हर्क बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार अचेत अवस्थामा फेला परेका उनलाई तत्काल खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल ल्याईएकोमा उपचारको क्रममा राती ८ बजे चिकित्सकले मृत घोषित गरेको थियो ।
उनको मृत्यु पश्चात शवलाई जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखेर उनको पहिचान कार्य र थप अनुसन्धान सुरु गरिएको डिएसपी दोङले बताए । कुमाईको मृत्यु भएको १२ दिनपछि उनको पहिचान खुलेको प्रहरी स्रोतले जनाएको छ । शनिबार उनको २० बर्षीया छोरीले बुबाको पहिचान गरेको र सोही दिनको १२ बजे शव परिवारलाई बुझाईएको जनाईएको छ । लडेर अचेत भएको हुन सक्ने प्रहरीकोे प्रारम्भिक अनुमान छ ।
