Monday, April 20News That Matters

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’ बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

पूर्णपुष्टि, कार्तिक १४ । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाबाट प्रेरित पौडेलले यसअघि पनि असहाय बालबालिका, विपन्न परिवार र आपत्‌कालीन अवस्थाका पीडितहरूका लागि विभिन्न समयमा सहयोग गर्दै आएका छन् ।

सहयोग ग्रहण गर्दै संस्थाकी निर्देशक मञ्जु खाँड ठकुरीले पौडेलप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामीजस्ता संस्थाहरूको सञ्चालन दाताहरूको सहयोगमै निर्भर छ । विकास पौडेलज्यूजस्ता सहयोगी व्यक्तिहरूको हात यसरी अघि बढ्दा, आश्रित बालबालिकाहरूको जीवनमा मुस्कान ल्याउन सजिलो हुन्छ ।” उनले अन्य नेपालीहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन आग्रह गरिन् ।

मञ्जुश्री असहाय संरक्षण केन्द्र, भरतपुर–११, गणेशस्थानमा अवस्थित छ । हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षण, न्याय र अधिकारका लागि विगत दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गर्दै आएको संस्था हो ।
हाल केन्द्रमा २४ जना असहाय बालबालिका र ३ जना सुत्केरी महिला आश्रित छन् । संस्थाले उनीहरूको हेरचाह, शिक्षादेखि स्वास्थ्यसम्मका आवश्यकता पूरा गर्दै आएको छ ।

पत्रकार पौडेलले सहयोगबारे प्रतिक्रिया दिँदै भने, “विदेशमा रहेर पनि मातृभूमिप्रतिको उत्तरदायित्व कहिल्यै हराउँदैन । यी बालबालिकाको मुस्कान नै हाम्रो वास्तविक उपलब्धि हो,” पौडेलले भावुक हुँदै बताए ।