
पूर्णपुष्टि, पुष २३
बुधबार साँझ आगलागी हुँदा सिराहामा ८ बर्षीय बालकको जलेर मृत्यु भएको छ । मिर्चेया नगरपालिका–७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ बर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए । लामखुट्टे धपाउनका लागि उनिहरुले घुर बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चेयाले जनाएको छ ।
उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
