Monday, May 4News That Matters

आज कोशी प्रदेश सरकारमा गठबन्धनबाट थापाले दाबी गर्ने

पूर्णपुष्टि, असार २१ । कोशी प्रदेश सरकार गठन गर्न गठबन्धनका दलहरुले तयारी थालेका छन् । एमाले नेतृत्वको सरकार ढलेपछि गठबन्धनकाको समर्थनमा सरकारको नेतृत्व गर्न काग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् ।

यहि असार १५ गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वाशको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कार्की पदमुक्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिदैँछ ।

आज सरकार गठन गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा थापाले दाबी पेश गर्ने तयारी गरेका हुन् । राप्रपालाई सरकारमा सहभागी गराउन तयारी गरिएपनि राप्रपाले तत्काल निर्णय नदिएकोले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेको कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए ।

गठबन्धन दलले आलोपालो मुख्यमन्त्रीका लागि पहिलो पालामा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । राप्रपालाई सरकारमा सहभागी गराउने जिम्मेवारी समेत कांग्रेसलाई नै दिईएको थियो । गठबन्धबाट मुख्यमन्त्री नियुक्त भएपनि राप्रपाले समर्थन नगरे विश्वासको मत नपाउने अवस्था छ । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्ने निर्णय भइनसकेको बताए । कोशी प्रदेशमा राप्रपाको ६ सांसद रहेको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ । विश्वासको मत प्रयोजनका लागि बराबरी भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउँछन् । विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ ।