Sunday, June 14News That Matters

आज भारतीय सेना प्रमुख नरवणे नेपाल आउँदै

पूर्णपुष्टि, कात्तिक १९

आज भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे नेपाल आउँदै छ । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेको हो ।
उनी दिउँसो भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने भएको छ । भोली राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गरी फर्कने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।

नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।