
पूर्णपुष्टि,वैशाख २५ । आज अंग्रेजी महिनाको ८ तरिक अर्थात विश्व रेडक्रस दिवस । रेडक्रस ‘सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व रेडक्रस दिवस मनाइँदैछ ।
नेपाल रेडक्रस सोसाइटीले चेतनामूलक ¥याली, विभिन्न प्रतियोगिता तथा भूकम्प प्रतिकार्यका सन्दर्भमा विभिन्न सहयोगी महानुभावलाई सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसको अन्तराष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्रा्ष्ट्रिय महासङ्घ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील राष्ट्रिय सोसाइटी रेडक्रस अभियानका धरोहर भएको बताउनुभयो ।
सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले गत आर्थिक वर्षमा मात्र विपद् प्रभावित तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी मानिस लाभान्वित भएको जानकारी दिनुभयो । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने परम्परा छ । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा विगत १५३ वर्षदेखि सेवामा पु¥याउँदै आएको छ ।
