
पूर्णपुष्टि, असार ३१ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखी महोत्तरीको भंगहासम्म चल्ने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको जानकारी दिए ।
थप १७ किलोमिटर रेल सेवाको उद्घाटन महोत्तरीको भंगहा स्टेशनमा आज बिहान साढे १० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबाट गरिने महाप्रबन्धक झाले बताए । उद्घाटन कार्यक्रममा सहभागी हुन यातायातमन्त्री ज्वाला आज महोत्तरी आउँदै छन् ।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजबाट १७ किलोमिटर थप भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।
