
पूर्णपुष्टि, असोज १४
कोरोना महामारीले गर्दा २०२० को कोरीया भाषा परीक्षा २०२१ मा मात्रै हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा २०२१ मा मात्रै हुने भएको हो ।
नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनु पर्ने छ । कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघ महिनामा परीक्षा गर्ने गरी तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
२०२० को लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिका भन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जनाईएको छ ।
कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीनचार महिना धकेलिन सक्ने सङ्केत गरेको जनाईएको छ । सहज हुनेबित्तिकै परीक्षा हुने जनाईएको छ ।
भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला हुने जनाईएको छ । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।
सन् २०१९ मा सात हजार १ सय ३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । अहिलेसम्म चार हजार २० महिला र ६२ हजार ८ सय ५२ पुरुषसहित ६६ हजार ८ सय ७२ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गइसकेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत छन् ।

