Tuesday, June 2News That Matters

उखुबारीमा गाडिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

पूर्णपुष्टि, माघ १६
मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परका दुबै शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको शव फेला परेको हो । उनीहरु दुबै जना साथी रहेको प्रहरीले जनाएको छ ।
बिहीवार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।

तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको शव उनका आफन्तले सनाखत गरेको जानकारी दिए । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।
गत बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको थियो ।

प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको प्रहरी स्रोतको भनाई छ ।