१.
उदयपुरमा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । २२० जनाको परिक्षण गर्दा ३२ महिला र ३२ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ४३, लिम्चुङबुङको १७ र रौतामाईको ४ रहेका छन् ।
योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ११७ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरको रिपोर्ट अनुसार पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५६४, चौदण्डीगढीमा ११५, र बेलकामा ११९ र कटारीमा ११४ रहेका छन् । रौतामाईमा ८२, लिम्चुङबुङमा ७६, उदयपुरगढी ३६ र ताप्लीमा ११ रहेका छन् ।
२
उदयपुरमा आज १० जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको ९ र त्रियुगाको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २७३ पुगेको छ ।
३
आज १ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४० वर्षिय महिलाको मृत्यु भएको हो । उनको धरानस्थित विपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । जसमा १३ महिला र २६ पुरुष रहेको मृत्यु भएको हो ।
मृत्यु हुनेको ठूलो संख्या त्रियुगामा २३ जना हो । चौदण्डीगढीमा ७ जना पुगेको छ । कटारी ३, उदयपुरगढी ३, बेलका २, रौतामाई १ र लिम्चुङबुङ १ जनाको मृत्यु भएको हो ।
४
ताप्लीको पछिल्लो जानकारी अनुसार सो गाउँपालिकामा आजसम्मको परिक्षणबाट २८ जना कोरोना संक्रमित भेटिएको छ । पालिकामा १९४ जनामा परिक्षण गरिदा २८ जनामा संक्रमण देखिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिएका छन् ।
५
उदयपुर कोरोना अस्पताल बेल्टारमा हाल ४४ कोरोना संक्रमित उपचाररत छन् । सो अस्पतालका ब्यवस्थापक तेजबहादुर पोखरेलका अनुसार सो अस्पतालबाट ७३ जना निको भएर फर्किसकेका छन् । १७ जनाको बाहिर अस्पतालमा रेफर भए भने २ जनाको मृत्यु भयो । सो अस्पतालमा हालसम्म जम्मा भर्ना हुनेको संख्या १३६ रहेका छ ।
६
अव देशको कोरोना अपडेट
नेपालमा आज ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ७६ ह्जार १३० पुगेको छ
नेपालमा आज ६ हजार ६५३ जना संक्रमित थपिएको छ । योसंगै संंक्रमितको कुल संख्या ५ लाख ८१ हजार ५६० भएको छ । आज १०१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ७ हजार ७३१ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितको संख्या क्रमश घट्दै जाने क्रममा आज नेपालमा सक्रिय संक्रमितको संख्या लाख तल झरेको हो ।
७
अव विश्व कोरोना अपडेटको पालो
विश्वमा कोरोना संक्रमितको संख्या १७ हजार २९ लाख १४ हजार ७०३ पुगेको छ । निको हुनेको संख्या १५ करोड ५६ लाख ४० हजार ५३४ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख १७ हजार ४३० पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ३५ लाख, ५६ हजार ७३९ रहेको छ ।
८
कोरोना विरूद्ध गतिविधि खबरहरु
उदयपुरमा कोरोना संक्रमण चेन ब्रेक हुन नसक्दा निशेधाज्ञ फेरी थपिएको छ । प्रशासनले चौथो पटक निशेधाज्ञ थपेको हो । गत वैशाख २५ गतेदेखि उदयपुरमा प्रशासनले सुरु गरेको निशेधाज्ञ भरै राती १२ बजेदेखि लागु हुनेगरी आगामी २७ गते रातीसम्मका लागि चौथो पटक थपेको हो । ७ दिनका दरले निशेधाज्ञ थप्ने क्रम चलिरहेको छ ।
तेस्रो पटकसम्मको निशेधाज्ञमा संक्रमण चेनब्रेक हुने अनुमान फेल भएको छ । अझै पनि जिल्लामा परिक्षणको दायरा बढाएसंगै संक्रमित थपिने क्रम जारी छ ।
बेलैमा सावधानी नअपनाउदा उदयपुरको आठै पालिकाको समुदायस्तरमा कोरोना फैलिएको हो । बाहिरबाट आएकाहरु आइसोलेशनमा नबसी सिधै समुदायमा घुलमिल भएको र विवाह, धार्मिक तथा परमपरागत कार्यहरुले बढि फैलिएको थियो ।
९
प्रशासनले निशेधाज्ञमा केही समय यता ठप्प पारिएको बैंक तथा वित्तिय संस्थालाई हप्ताको तीनदिन आइतबार, मंगलबार र विहिबार सन्चालन दिने भएको छ ।
साथै निर्माणको कामलाई केही सहजिकरण गरिएको छ । निर्माण सामाग्री ढुवानीका लागि साँझ ५ देखि विहान ५ बजेसम्म खुल्ला गरेको छ । बाँकी सबै नियमहरु यथावत रहेको जनाइएको छ ।
१०
अन्तराष्ट्रिय नेपाली समाजले आज लिम्चुङबुङ गाउँपालिकाका संक्रमितहरुका लागि पोषिलो खानेकुरा र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चामल १५ बोरा, अन्डा १० क्रेट, चना १ कोरा, मटर १ बोरा, मुगीको दाल १ बोरा, स्याउ १ कार्टुृन, अनार १ कार्टुन र पिपिइ सेट ३ थान सहयोग गरेको हो । समाजका केन्द्रिय उपाध्यक्ष झलक बुढाथोकी, महिला समिति उपाध्यक्ष नजबुल खान निलम, राष्टिय समिति नेपालका सदस्य रुपा राई, पारु विश्वकर्माले पालिकाका प्रेस संयोजक दिनेश राईलाई सामान हस्तान्तरण गरेका छन् । सहयोगमा समाजका केन्द्रिय उपाध्यक्ष इश्वर राई, महासचिव अर्जुन श्री लगायतको पहल रहेको छ ।
११
कोरोना महामारीमा अक्शिलन उदयपुरमै उत्पादन गर्ने उद्देश्यले बेलकामा निर्माण हुने अक्सिजन प्लान्टको लागि सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा शिक्षिक तथा समाजसेवी बेलका ५ मैनीकी रुवी मगर, सावित्रा मगर र चन्द्रकला मगरबाट ५ हजार २१० रुपैया सहयोग भएको छ ।
त्यसैगरी चौदण्डीगढी वडा नं. ४ की आशा खड्काले ३ हजार १५० रुपैया, बेलका ९ स्थित कमला बहुआयामिक कृषि कर्मथलोका प्रोपाइटर कमला सेढाइले ५ हजार ५ रुपैया, सामाजिक अभियानता गितान्जली बन्जरा र उनकी आमा लक्ष्मी बन्जराले १ हजार ८०५ रुपैया सहयोग प्रदान गरेका छन् ।
त्यसैगरी निरौला बन्धु सेवा समाज बेलकाले १९ हजार ७६०, बेलका स्थित सहयोगी ऋण तथा वचत सहकारी संस्थाले १५ हजार, बेलका ब्राम्हण समाजले ५ हजार १०० सहयोग गरेका छन् ।
कागेशोरी नगर ९ मनोहराकी देविका केसी बस्नेत, सविता अधिकारी बस्ते, दुर्गा धामी बस्नेतले ५ हजार २५०, बेलका २ भागलपुरकी कल्पना कटुवालले २ हजार ५५, चौदण्डीगढी ७ की पार्वती राई र उनको छोरा पृथ्वी उदासले २ हजार ५२५ रुपैया प्रदान गरेका छन् । चौदण्डीगढी ७ कै पदमप्रसाद बन्जरा र उनका छोरा विकास बन्जराले १ हजार ५१५ रुपैया सहयोग गरेका छन् ।
