
पूर्णपुष्टि, चैत २३ गते ।
किशोरीको हत्यारालाई सार्बजनिक गर्न माग गर्दै स्थानीयले उदयपुरको रामपुर बजार क्षेत्रमा आज प्रदर्शन गरेका छन् । घटनाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले अपराधी सार्बजनिक नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
बेनपा–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हिजो विहान ट्युसन पढ्न जाने क्रममा विहान हत्या भएको थियो । शरीरमा चोटपटक तथा टाउकोमा गम्भिर चोट रहेको अवस्थामा उनको लास फेला परेको थियो । टाउकोमा ढुङ्गा र वियरको बोतल प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ ।
पिडित परिवार, आफन्तजन र स्थानीयहरुले बेलकाको बुद्धचौक, किराँतचौक, नगरपालिका चौक लगायतका ठाउँहरुमा चक्काजामसहित प्रदर्शन गरेका छन् ।
घटना लगत्तै हत्यामा संलग्नको आशंकामा बेनपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) लाई प्रहरीले पक्राउ गरेको छ । मृतकको परिवारले हिजै किटानी जाहेरी दर्ता गरेको थियो ।
परिवारले पक्राउ परेका दाजुवहिनीलाई नै दोषी देखाई किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको आज अदालतमा म्याद थप गर्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार प्रहरीको अनुसन्धान हत्यारा पत्ता लगाउने अवस्थामा पुगिसकेको छ । अनुसन्धानको निष्कर्ष आइसकेपछि हत्यारा सार्बजनिक गर्ने तयारीसमेत रहेको उहाँले बताउनुभयो ।
