Tuesday, April 21News That Matters

उदयपुर सिमेन्ट उद्योगको किल बोकेको ट्रेलर दुर्घटना

पूर्णपुष्टि, असोज १८ । भारतको कलकत्ताबाट उदयपुर सिमेन्ट उद्योगको लागि किल बोकेर आउँदै गरेको एक ट्रेलर शुक्रबार कदमाहा-गाईघाट सडक खण्डमा दुर्घटनामा परेको छ । ट्राफिक हवल्दार शम्भु थापाका अनुसार  cgo7 aa9207 नम्बरको ट्रेलर चुरे जंगलको मन्दिर नजिकैको मोडमा ओरालोको घुम्तीमा पाङ्ग्रा सडक छेउमा फसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडीमा लोड गरिएको सामान सडकमा झरेर भाचिएको छ, तर कुनै मानवीय क्षति भएको छैन । सिमेन्ट कारखानाका अधिकृत प्रथम लाल चौधरीका अनुसार सडक साँघुरो भएका कारण प्रहरीले उक्त ट्रेलरलाई दुई दिनदेखि रोकेर राखेको थियो ।

चौधरीले बुधबार तीन थान किल बोकेका दुई ट्रेलरमध्ये एउटाले एक थान किल बिहीबार नै कारखानामा झारेको र अर्को ट्रेलरलाई प्रहरीले रोकेर राखेको जानकारी दिए । शुक्रबार गाडी छोडिएपछि दुर्घटना भएको हो । करिब ६ करोड मूल्यको उक्त किल काठमाडौंस्थित टेक्निकल सोलुसन प्रालिले टेन्डरमार्फत उद्योगका लागि भारतबाट खरिद गरी ल्याएको चौधरीले बताए ।