Sunday, June 14News That Matters

उदयपुर सिमेन्ट उद्योगमा मजदुरहरु असन्तुष्टी, महाप्रवन्धक न्यौपानेको राजीनामा माग

पूर्णपुष्टि, वैशाख २९ ।
उदयपुर सिमेन्ट उद्योग, जलजलेमा बेथिति बढेको भन्दै मजदुर, कर्मचारीहरुले महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको राजनीनामा माग गरेका छन् । उद्योग भन्दा ब्यक्तिगत स्वार्थमा हावी भएकाले महाप्रवन्धकबाट उद्योग नचल्ने ठहर उनीहरुको छ । उद्योगको वार्षिक साधारणसभाकै दिन मजदुर, कर्मचारीहरुले महाप्रवन्धकको पछिल्लो गतिविधि र गलत नियतप्रति आलोचना गर्दै राजीनामा माग गरेका हुन् । अघिल्लो दिन उद्योगमा क्रियाशिल चार ट्रेड युनियनहरु नेपाल कारखाना श्रमिक संघ, नेपाल मजदुर संगठन, नेपाल औद्योगिक मजदुर संघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई ज्ञापन पत्र बुझाउदै महाप्रवन्धकको राजिनामा माग गरेका थिए ।

बेथिति मौलाएका कारण उद्योग चल्न नसकेको र ११ करोड बढि घाटा रहेको अवस्थामा ५६ करोड नाफा भन्ने गलत प्रचार गरेर सस्तो लोकप्रीयता कमाउन खोजेको आरोप छ । मजदुर, कर्मचारी र सरकारको आँखामा छारो हाल्न उद्योगको जग्गालाई देखाएर नाफा देखाएकोमा मजदुर नेताहरुले आपत्ती जनाएका छन् । उद्योगलाई नाफाको गलत प्रचार गर्दै भित्रभित्रै खोक्रो बनाउने र धरासायी बनाएर सिध्याउन खोजेको आरोप छ ।

विविध बहाना बनाएर काठमाडौं बसेर उद्योग चलाउने गरेका महाप्रवन्धक न्यौपाने महिनामा तीन÷चार दिनमात्र उद्योगमा हाजिर हुने गरेका महाप्रवन्धक न्यौपाने सामाजिक सञ्जाल र मिडियाहरुमा सस्तो लोकप्रीयता कमाउन आप्mनो प्रचार–प्रसारमा बढि रमाउने गरेका छन् । मञ्त्रालयमा पैसा माग्न गएको, कार्यक्रम माग्न गएको भनेर ढाट्दै कोइला, मर्मत सामग्री, ठेक्का प्रक्रिया, खरिद प्रक्रियामा नितिगत भ्रष्टाचार गरेको, भित्रभित्रै उद्योगलाई ध्वस्त बनाई ब्यक्तिगत स्वार्थपूर्ती गर्ने र उद्योगलाई नीजिकरण गराउन खोजेको आरोप छ ।

उनले गत आर्थिक बर्षमा विक्री भएको सिमेन्ट र कवाडी सामानमासमेत घोटना गरेको भन्दै चर्को विरोध भएको छ । महाप्रवन्धक न्यौपानेले गरेको बेथितिको छानविनसमेतको माग गरेका छन् । उद्योग महिनौदेखि बन्द छ । यस्तो अवस्थामा काठमाडौंबाट महाप्रवन्धक न्यौपाने अपर्झट आएर साधारणसभा गर्न खोजेपछि मजदुर, कर्मचारीले असन्तुष्टि जनाए । उनीहरुको असन्तुष्टि र बहिस्कारकाबीच पुलिस÷प्रशासन लगेर साधारणसभा सकेको आरोप छ । यस्तो साधारणसभाको कुनै औचित्य नरहेको उनीहरुको भनाई छ । साधारणसभा भने उद्योग मन्त्री रिजाल, उद्योग सञ्चालक समितिका अध्यक्ष केशब बस्नेत, उद्योग, अर्थ, खानी विभाग प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ । साधारणसभा कार्यक्रम मन्त्रीको उपस्थितिमा भएको र सुरक्षा ब्यवस्था तथा बसाई ब्यवस्थापन ब्यवस्थित बनाइएकोले सबै मजदुर, कर्मचारीहरुलाई अटाउन नसक्दा उनीहरुबाट असन्तुष्टि आएको उद्योग प्रशासनको जवाफ छ ।