
पूर्णपुष्टि, बैशाख २८
कोरोना संक्रमण बाट उदयपुरमा थप ३ जनाको मृत्यु भएको छ । सरकारी कार्यायका एक प्रमुख सहित हिजो र आज गरी ३ जनाको मृत्यु भएको हो ।
संक्रमण बाट थप ३ जनाले ज्यान गुमाए सँगै उदयपुरमा कुल मृतकको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा ५४, ३४ बर्षिय पुरुष र ५० बर्षिया एक महिला रहेको छ । उनिहरुको सोमबार बेलुका र मंगलबार बिहान मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कार्यालय प्रमुखको सोमबार मृत्यु भएको हो । सिरहा निवासी उनी कार्यालयबाटै संक्रमित भएपछि उपचारका लागि काठमाडौं पुगेका थिए ।
अन्य मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका–८ का ५४ वर्षीय पुरुष र त्रिनपा– ५ की ५० वर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । ४५ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो । बैशाख २३ गते अस्पतालमा आएका उनको मंगलबार बिहान बिहान ५ः१५ मा मृत्यु भएको उहाँले बताउनुभयो । त्यसैगरी ५० बर्षिया महिलाको भने कोसी अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन बैजनाथ शाहाले बताउनुभयो ।
कोरोना पोजेटिभ देखिएकी उनको श्वासप्रश्वासमा समस्या देखिएपछि २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको शाहाले बताउनुभयो ।
शाहाका अनुसार उनको मंगलबार बिहान १ः३० बजे मृत्यु भएको हो । मृतकको शव उदयपुर प्रशासनसँग समन्वय गरी पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
कोरोना रिपोर्ट पोजिटिभ आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या भएपछि उनीहरुलाई उपचारकालागि अस्पताल भर्ना गरिएको थियो । प्रजिअ सेडाइले विराटनगरबाट दुबैको शव आएपछि शव व्यवस्थापन टोलीले शवको व्यवस्थापन गर्ने बताउनु भएको छ ।
