Wednesday, June 10News That Matters

उदयपुरका शिक्षक र कर्मचारीसहित २३ जनाको सक्रियता राजनीतिमा, कारवाहीको माग गर्दै उजुरी पर्यो

पूर्णपुष्टि, पुष ८
उदयपुरका शिक्षक र कर्मचारीको सक्रियता राजनीतिमा रहेको उजुरी परेको छ । १८ शिक्षक र पाँच जना कर्मचारी गरी २३ जना विरुद्ध उजुरी परेको हो । सक्रिय राजनीति गर्नेमा सरकारी विद्यालयका हेडमास्टरदेखि राहत शिक्षकसम्म रहेका छन् ।
उजुरीमा परेका शिक्षकहरु मध्ये दुई हेडमास्टरहरु मुख्य पदमा निर्वाचित छन् भने अन्य प्रदेश तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यमा निर्वाचित भएका छन् । उदयपुरगढी गाउँपालिका अन्तर्गत माध्यामिक विद्यालय जलकेनीका प्रधानाध्यापक खेसबहादुर मगर नेपाली कांग्रेसको उदयपुर निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश क को सभापतिमा निर्वाचित भएका छन् । त्रियुगा नगरपालिका अन्तर्गत आधारभुत विद्यालय असारीका प्रधानाध्यापक केशब घिमिरे त्रियुगा नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका छन् । मावि जलकेनीका प्रअ मगरले राजीनामा दिइसकेका छन् भने घिमिरेले अझै दिएका छैनन् ।
लिम्चुङबुङ गाउँपालिका–४ का मोहनसेर राईले सक्रिय राजनीतिमा देखिएका शिक्षक तथा कर्मचारीहरुलाई कारवाहीको माग गर्दै उजुरी दिएको छ । राईले जिल्ला निर्वाचन, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा समन्वय इकाई उदयपुरमा उजुरी दिएको हो ।
“शिक्षक र राष्ट्रसेवक कर्मचारीहरु सक्रिय राजनीतिबाट हट्नुपर्छ भन्ने हेतुले उजुरी दिएको हुँ” राई ले भने “नियमन निकायहरुका साथै अख्तियारसम्म पनि पुग्नेछु ।”
नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र) मा शिक्षकहरु आवद्ध भइ सक्रिय राजनीति गरेको देखिएको छ । उजुरीमा परेका शिक्षकहरुमा माध्यामिक विद्यालय भुल्केका तिलकबहादुर कटुवाल, मावि गाईघाटकी मिना खड्का, मावि कालिखोलाकी तस्विरा तामाङ, मावि झिल्केपोखरीकी सिताकुमारी मगर, आधारभुत विद्यालय हडैया कटारीका बाबुराम कार्की, आ.वि. हडैयाकै राजेश कार्की, त्रियुगाका भक्तबहादुर मगर, मावि सिवाई चौदण्डीका दिनेश ढुङ्गाना रहेका छन् । त्यस्तै मावि लक्षमीपुरका सन्तोष बस्नेत, मावि बालमन्दिरकी सिता पौडेल, चौदण्डीगढीका भाष्कर चौधरी, बेलकाका गिरीलाल परियार, त्रियुगाका विष्णुमुरी मगर, विपिन आचार्य, रौतामाईका देवेन्द्र रायमाझी, खड्गबहादुर परियार रहेका छन् ।
त्यस्तै कर्मचारीहरुमा उदयपुर सिमेन्ट उद्योग जलजलेका चुडामणी पोखरेल, कृष्ण केसी, देवेन्द्र झा रहेका छन् । बेलका नगरपालिका–१ का वडा कर्मचारी दुर्गा सुवेदी, खानेपानी तथा ढल निकास भैसेपाटीका कर्मचारी बोधनाराण दाहाल रहेका छन् ।
उजरीको सन्दर्भमा प्रशासनले जिल्ला निर्वाचन कार्यालयसंग सम्बन्धीत रहेको भन्दै उतै पठाएको छ । प्रशासकीय अधिकृत भक्त राईले सो उजुरीको बारेमा बुभ्mदा प्रशासनले हेर्ने भन्दा पनि निर्वाचन कार्यालयसंग सम्बन्धीत देखिएकाले उतै पठाएको बताए ।
जिल्ला निर्वाचन अधिकारी हिमालय बरालका अनुसार राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरु सक्रिय राजनीतिमा आउन पाउदैनन् । उनका अनुसार राजनीतिक दलको मुल कमिटिमा रहेका सदस्य तथा पदाधिकारी, प्रदेश तथा केन्द्रिय प्रतिनिधिहरुलाई पदबाट हटाउन भन्दै राजनीतिक दलहरुलाई पत्रचार गरेको छ । साथै निर्वाचन आयोग केन्द्रमा जानकरी पठाएको छ । राजनीतिक दलले शिक्षकहरुलाई पदबाट नहटाएमा वा उनीहरुले राजिनामा नदिएमा विभागिय कारवाही हुने देखिन्छ ।