Wednesday, June 10News That Matters

उदयपुरको आठ पालिका मध्ये कटारीमा सबैभन्दा बढी बेरुजु

पूर्णपुष्टि, साउन २ गते ।
उदयपुरको आठ वटै स्थानीय तहमा बेरुजु देखिएको छ । जिल्लाको कटारी नगरपालिकामा सबै भन्दा बढी बेरुजु रहेको महालेखा परिक्षकले देखाएको छ । सार्वजनिक महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा सबै भन्दा बढी बेरुजु कटारीमा र कम उदयपुरगढी गाउँपालिकामा रहेको छ ।
महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्व ८५ करोड २७ लाख ७४ हजार मध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यस अघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो । त्रियुगा नगरपालिकामा २ अर्व ४२ करोड ६२ लाख १६ हजार मध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यस अघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।
यता बेलकामा यस अघि ४ करोड १ लाख ७९ हजार अर्थात २.७९ प्रतिशत बेरुजु रहेकोमा यो पालि ३ करोड ३ लाख ७४ हजारको १.९४ प्रतिशतमा मात्रै बेरुजु देखिएको छ । बेलका नगरपालिकामा १ अर्व ५६ करोड ३९ लाख २१ हजार बजेट विनियोजन भएको थियो ।
लिम्चुङबुङ, उदयपुरगढ, ताप्ली र रौतामाईमा पनि बेरुजु रहेको छ । लिम्चुङबुङको ६५ करोड ८१ लख २७ हजार रकम मध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४.२९ प्रतिशत बेरुजु देखिएको छ । यस अघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो । ताप्लीमा ७९ करोड ३९ लाख ५९ हजार मध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार अर्थात २.१५ प्रतिशत बेरुजु रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्व १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार अर्थात १.२९ प्रतिशत बेरुजु देखिएकोे छ ।
उदयपुरगढी गाउँपालिकामा १ अर्व २१ करोड ८८ लाख ६ हजार रकम मध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०.३८ प्रतिशत रहेको छ । यस अघि ९८ लाख ४ हजार अर्थात ०.८३ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।