Sunday, April 26News That Matters

उदयपुरको एक मेडिकलमा प्रशासनको ताला, तिन वटालाई जरिवाना

पूर्णपुष्टि, साउन १९ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चौदण्डीगढी नगरपालिका भित्र संचालित एक मेडिकल हलमा ताला लगाएको छ । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेको नेतृत्वको औषधी पसल तथा मेडिकलहल अनुगमन टोलीले चौदण्डीगढी–४ बसाहामा मापदण्ड विपरीत महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हलमा ताला लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अवैधानिक रूपमा मापदण्ड विपरीत सञ्चालित बीज मेडिकल हलमा ताला लगाईएको छ । त्यस्तै अनुगमन टोलीले दर्ता प्रमाणपत्र नभएको भन्दै पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.ली., दिव्यान्स फार्मेसीलाई जरिवाना समेत गरेको छ । अनुगमनको क्रममा भेटिएको म्याद सकिएको औषधिहरु अनुगमन टोलीले बरामद गरेको छ ।

धेरै मेडिकलहरु मापदण्ड विपरीत सञ्चालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन थालिएको हो । अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार, बसाहा लगायतका क्षेत्रमा सञ्चालित मेडिकल हलमा छड्के अनुगमन गरेको हो । जिल्लाको सबै मेडिकलमा अनुगमन गरिने अधिकारी पाण्डेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो ।