Friday, May 15News That Matters

उदयपुरको एकठाउँमा मतपत्र च्यातियो, ३ ठाउँमा मतपरिणाम सार्वजनिक : कांग्रेस प्रदेशसभा अधिवेशन निर्वाचन

पूर्णपुष्टि, मंसिर ४ ।
नेपाली कांग्रेस प्रदेशसभा अधिवेशनको निर्वाचनमा उदयपुरमा एक ठाउँमा मतपत्र च्याताच्यात भएको छ भने तीन ठाउँको मतपरिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेस उदयपुरको चारकेन्द्रमा प्रदेशसभा अधिवेशनको निर्वाचन मध्ये एक ठाउँमा मतपत्र च्याताच्यात भएको छ । मतगणनाको क्रममा गणनास्थलभित्रै विवाद उत्पन्न भएपछि निर्वाचन क्षेत्र नं. २ अन्तर्गत (क) केन्द्रमा मतपत्र च्याताच्यात भएको हो ।
प्रदेशसभा अधिवेशनका लागि सो क्षेत्रमा मोहनसेर राई नेतृत्वको प्यानल र खेसबहादुर मगर नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । उदयपुरगढीको नेपालटार बजारमा दिउसो मतदान सकिएपछि साँझबाट मतगणना सुरु भएको थियो ।

मतपत्र च्यातिएपछि सो ठाउँको मतगणना स्थगित भएको छ । सो केन्द्रका सभापति उम्मेदवार मोहनसेर राई र खेसबहादुर मगरकै उपस्थितिमा विवाद उत्पन्न भएको बुझिएको छ । विवाद मतपत्र च्यात्नेसम्मको अवस्थामा पुगेपछि दुई खेमाबीच ठूलो झडप निम्तिन नदिन तत्काल स्थगित गरिएको थियो ।
नेपाली कांग्रेस उदयपुरका प्रवक्ता मदन कटुवालले मतपत्र नै च्यातिनेसम्मको घटना भएकोले हाललाई स्थगित गरिएको बताउनुभयो । पतपत्र के विवाद र कसले च्यात्यो भन्ने कुरा प्रष्ट नभइसकेकोले जिल्ला पार्टीले घटनाबारे छानविन गरी समस्या हलतर्फ लाग्ने कटुवालले बताउनुभयो ।

जिल्लाको अन्य तीन ठाउँको मतगणना भने शान्तिपूर्वक सम्पन्न भएको छ । क्षेत्र नं. १ अन्तर्गत (क) मा सभापतिमा अर्जुन दाहालले विजय हाँसिल गरेका छन् । उनले जयप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । क्षेत्र नं. १ (ख) मा सभापतिमा सरोज बस्नेत विजय भएका छन् । उनले प्रतिद्वन्द्वी देवीकुमारी चौधरीलाई पराजित गरेका हुन् । त्यसैगरी क्षेत्र नं. २ (ख) मा सभापतिमा कृष्ण थापा विजयी भएका छन् । उनले राम पोखरेललाई पराजित गरेका हुन् ।