
पूर्णपुष्टि, जेठ २५ । उदयपुरको कटारी नगरपालिकामा नेपाली सेनाले विपदका नमुना उद्धार अभ्यास डेमोस्ट्रेसन प्रदशर्न गरेको छ । शुक्रबार श्री पशुपति गण पिपलटार व्यारेक उदयपुरको आयोजनामा कटारी–५ सिमसारमा बाढीबाट जोगिने उपायहरुको नमुना प्रदशर्नी गरिएको हो ।
बाढीमा फसेकाहरुलाई कसरी उद्धार गर्ने, घरेलु स्थानीय सामाग्रीबाट कसरी उद्धार सामाग्री निर्माण र प्रयोग गर्ने, बाढीबाट विस्थापितको कसरी उद्धार गर्ने, डुंगा पल्टिंदा कसरी बच्ने लगायतको नमुना प्रदर्शनी गरिएको थियो । त्यस्तै उद्धार गरेकाहरुलाई छिटो उपचारमा पुराउने, उपचार गर्ने तथा अन्य क्षतिहरुको बारेमा कसरी तथ्यांक संकलन गर्ने लगायतका विषयहरुमा प्रदशर्नी गरिएको थियो ।
ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराईले मनसुन सुरुहुन पूर्व गरिएको यो प्रदशर्नी महत्वपूर्ण रहेको बताएका छन् । विपदमा उद्धारका लागि सवैभन्दा पहिला छिटो सूचनाको आवश्यकता पर्ने बताउँदै अन्य उद्धारका लागि प्रशासन जहिले तयारी अवस्थामा रहेको प्रमुख भट्टराईले बताए । नेपाली सेनाले शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, स्वाथ्यकर्मी विपदसँग सम्वन्धित सरोकारवालाहरुको समन्वय तथा स्थानियहरुको उपस्थितिमा नमुना उद्धार अभ्यास डेमोस्ट्रेसन प्रदशर्न गरेको हो ।
