Friday, May 15News That Matters

उदयपुरको जनसंख्या बढेर ३ लाख ४२ हजार ५१ पुग्यो, कतिले बढ्यो जिल्लाको जनसंख्या ?

पूर्णपुष्टि, माघ १३
राष्ट्रिय जनगणना २०७८ को अनुसार १० बर्ष पछि उदयपुरको जनसंख्या बृद्धि भएको देखिएको छ । हालै केन्द्रीय तथ्याङ बिभागले देशकै जनसंख्या सार्वजानिक गरे सँगै उदयपुर जिल्लाको पनि ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्ला भरीकै जनसंख्या सार्वजानिक भएको हो ।

उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार २४५१९ जनाले जनसंख्या बृद्धि भएको तथ्याङकमा उल्लेख भएको छ । यो संख्या दश बर्ष पछिको बृद्धि संख्या हो । यो संख्या सँगै उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ५१ जना पुगेको छ । १० बर्ष अघि जिल्लाको कुल जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ जना रहेको तथ्याङकमा उल्लेख गरिएको छ । जिल्लामा जनसंख्या १ लाख ७७ हजार ६ सय ७२ जना रहेको छ भने पुरुषको जनसंख्या १ लाख ६४ हजार ३ सय ७९ जना रहेको छ ।

जिल्लामा पुरुषको भन्दा १३ हजार २ सय ९३ जनाले महिलाको जंनसंख्या बढी देखिएको छ । पहिलेको गणना तथ्याङ अनुसार पनि महिलकै बढी संख्या देखिएको छ । उसो त देशकै जनसंख्यामा पनि महिलाकै संख्या बढी देखिएको छ । जिल्लामा सबै भन्दा बढी त्रियुगा नगरपालिकामा १ लाख ४ हजार ३ सय ७५ जना जनसंख्या रहेको छ । यो जिल्लाको सबै भन्दा ठुलो नगरपालिका पनि हो जसमा १६ ओटा वडाहरु रहेको छ ।

यस नगरमा महिलाको जनसंख्या ५४ हजार ८ सय ६१ जना रहेका छन् भने ४९ हजार ५ सय १४ जना पुरुषको जन जनसंख्या रहेको छ । त्यसैगरी कटारी नगरपालिकामा ६० हजार १ सय ६८ जना जनसंख्या रहेको पाईएको छ । जस मध्ये महिला ३० हजार ९ सय १८ जना रहेको छ भने, २९ हजार २ सय ५० जना पुरुषको जनसंख्या रहेको छ । यो जिल्लाको दोस्रो ठुलो नगरपालिका पनि हो । यस नगरमा १४ ओटा वडाहरु रहेको छ ।

यता जिल्लाको तेस्रो ठुलो नगरपालिका चौदण्डीगढी नगरपालिकामा ५३ हजार ५ सय ३७ जना जनसंख्या रहेको पाईएको छ । जसमा महिला २८ हजार १ सय ४८ जना रहेको छ भने, पुरुष २५ हजार ३ सय ८९ जना रहेको पाईएको छ । यस्तै जिल्लाको कान्छो नगरपालिका बेलका नगरपालिकामा ५१ हजार ४ सय ५८ जना कुल जनसंख्या रहेको तथ्याङकले देखाएको छ । जसमा महिला २६ हजार ८ सय २७ र पुरुष २४ हजार ६ सय ३१ जना रहेको छ ।

त्यसैगरी गाउँपालिकाहरुमा सबै भन्दा बढी उदयपुरगढी गाउँपालिकाको जनसंख्या बढी रहेको पाईएको छ । यस पालिकामा २८ हजार ९ सय २९ जना कुल जनसंख्या रहेको छ । जस मध्ये महिलाको जनसंख्या १४ हजार ८ सय ३६ जना र पुरुषको जनसंख्या १४ हजार ९३ जना रहेको छ । त्यसैगरी रौतामाईमा २० हजार ४ सय १८ जना कुल जनसंख्या पाईएको छ ।

जस मध्ये महिला १० हजार ४ सय १ जना र पुरुष १० हजार १७ जना रहेको छ । त्यस्तै ताप्लीमा १३ हजार ३ सय ७७ जना कुल जनसंख्या रहेको छ । जस मध्ये महिला ६ हजार ७ सय २९ जना र पुरुष ६ हजार ६ सय ४८ जना रहेको छ । त्यसैगरी जिल्लाको कान्छो गाउँपालिका लिम्चुङबुङ गाउँपालिकामा ९ हजार ७ सय ८९ जना कुल जनसंख्या रहेको छ । जस मध्ये ४ हजार ९ सय ५२ जना महिला रहेका छन् भने ४ हजार ८ सय ३७ जना पुरुष रहेका छन् । उदयपुर जिल्लामा जम्मा जनगणना घर संख्या ७५ हजार ९ सय ३२ रहेका थिए भने परिवार संख्या ८१ हजार ७ सय ८८ रहेका थिए ।