Friday, June 12News That Matters

उदयपुरको त्रियुगा–१२ मा पुनः मतदानको माग गर्दै दायर रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

पूर्णपुष्टि, जेठ १२ गते ।
प्रदेश नं. १ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् ।
निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् ।
‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर अन्ततः मतदान नगरेको चौधरीले बताए ।
‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ’, उनले न्युज कारखानासँग भने, ‘तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’
प्रदेश सांसद सुनिता चौधरीले पनि आफूले मतदान गर्न नपाएको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर परेकी छिन् । रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालले विपक्षी निर्वाचन अधिकृतको कार्यालयको नाममा कारण लेखाउ आदेश जारी गरेको छ ।
निवेदकको मागअनुसार अदालतले फेरि मतदान गर्न अन्तरिम आदेश भने जारी गरेन । अदालतको कारण देखाउ आदेशपछि बुधबारदेखि त्यहाँ मतगणना सुरु भएको छ । मतगणना सुरु हुनुपर्ने पक्षमा कांग्रेस र एमाले उभिएको थियो । फेरि, मतदानको पक्षमा भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत पार्टी छन् ।