
८ असोज, २०८३ । उदयपुर
उदयपुरमा जिल्ला प्रशासन कार्यालयले दुई राजमार्ग अन्तर्गतका सडकहरुमा रात्रिकालिन सवारी आवागमन रोक लगाएको छ । आजबाट सुरु भएको भारी वर्षा र आगामी ११ गतेसम्म निरन्तर हुने मौसम विज्ञान विभागको अनुमानलाई मध्येनजर गर्दै प्रशासनले जिल्लाका दुई मुख्य सडकहरु रात्रिकालिन सवारी आवागमनमा रोक लगाएको हो ।
प्रशासनले सुचना जारी गर्दै सिद्धिचरण लोकमार्ग अन्तर्गत ४० किलोमिटर कटारी–घुर्मीसडकखण्ड र सगरमाथा लोकमार्ग अन्तर्गत ५७ कि.मि. साउने–रसुवा सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको हो । कटारी–घुर्मी सडक जिल्लाको उत्तर, पश्चिम क्षेत्र जोड्ने एक मुख्य सडक हो भने गाईघाट–रसुवा सडकले पूर्वी, उत्तर क्षेत्रको भाग जोड्ने अर्को मुख्य सडक हो । 
जिल्लाको विभिन्न शाखा र उपशाखाहरु जेडिएका ती सडकहरुमा रात्रिकालिन यात्रा जोखिमयुक्त हुने सुरक्षा निकायको ठहर छ । प्रत्येक दिन साँझ ५ः०० बजेदेखि १२ घण्टासम्म अर्थात भोलिपल्ट बिहान ५ः०० बजेसम्म सम्पूर्ण किसिमका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
विरामी, गर्भवती महिला वा अन्य कुनै कारणबस् हिड्दै पर्ने भएमा अत्यावश्यक सेवाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसंग समन्वय गर्न प्रशासनको आग्रह छ । सम्भावित दुर्घटना र क्षति रोकथामका लागि पूर्व सतर्कता अपनाउन प्रशासनले यस्तो निर्णय लिएको हो ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखराज मग्रातीले आज जिल्लाको वर्षात सामान्यरुपमै रहेको र कतै क्षती तथा उच्च जोखिम नरहेको बताए । तथापी सम्भावित क्षती तथा जोखिमलाई मध्येनजर गर्दै विहानदेखि नै सुरक्षा परिचालन भएको छ ।
प्रजिअ मग्रातीका अनुसार सप्तकोशीमा पानीको वहान केही मात्रामा बढेको छ । बेलका नगरपालिकाको सप्तकोशीको तटीय क्षेत्र र विभिन्न खोलानदी किनार र आसपासका बस्तीहरुमा माइकिङ गरेर सतर्कता अपाउन सुचित गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागले देशैभर ठूलो वर्षाको सम्भावना रहेको भनी विशेष मौसम बुलेटिन जारी गरे अनुरुप हाल देशैभर भारी बर्षा भइरहेको छ । 
