
पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा खानेपानीको गम्भीर समस्या देखिएको छ । जिल्लाको ताप्ली, लिम्चुङबुङ्ग र रौतामाई गाउँपालिकाको पहाडी क्षेत्रका बासिन्दाले पर्याप्त पिउने पानी पाउन सकेका छैनन् ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क अनुसार स्थानिय खोलानाला, कुवा पँधेराहरुबाट खानेपानी उपभोग गर्दै आएका नागरिकहरुले २०७२ सालको भुकम्पपछि पानीका मुहान सुक्न थालेपछि खानेपानीको समस्या यो बर्षको अन्त्य सम्म झनै जटिल बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार खानेपानीकै कारण उदयपुरमा १३.९ प्रतिशत बसाइँसराइ भएको छ ।
स्थानीयले बिहान ५ बजेदेखि नै पानीको जोहो गर्न डेढ घण्टा टाढाको कुवामा जानुपर्ने बाध्यता छ । दैनिक तीन घण्टा खानेपानी संकलनमै बिताउनुपर्ने अवस्थाले विद्यार्थीहरूको पढाइमा समेत असर परेको छ । उर्भर भुमी पानी अभावले मरुभुमिमा परिणत हुन थालेको इन्सेकको तथ्याङ्ले देखाएको छ ।
पानी अभावका कारण सरसफाइमा समस्या भएको छ । यसबाट महिनावारी हुने महिला, जेष्ठ नागरिक र बालबालिकालाई बढी समस्या परेको छ । स्थानीय सरकार गठन भएको ६ वर्ष बितिसक्दा पनि खानेपानीको समस्या समाधान हुन नसकेको गुनासो स्थानीयको छ ।
