Monday, April 20News That Matters

उदयपुरको विभिन्न स्थानमा आगलागी, १५ लाख भन्दा बढी क्षती

पूर्णपुष्टि, बैशाख १० । उदयपुरको विभिन्न स्थानमा आगलागी भएको छ । आईतबार जिल्लाको दुई पालिकामा आगलागी हुँदा १५ लाख १५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिकामा एक घर र लिम्चुङबुङ गाउँपालिकामा तिन वटा घर आगलागीबाट जलेर नष्ट भएको छ ।

उदयपुरगढी गाउँपालिका वडा नं–६ रातमाटे बस्ने निर बहादुर कटुवालको इटाको गाँह्रो र टिनको छानो भएको १ तले घर सहित ग्वाली गोठमा सोमबार दिउँसो १ बजेको समयमा आगलागी भएको थियो । आगलागीबाट घर, ग्वाली गोठ सहित अन्नपात, भाँडावर्तन, काठपात, ३ वटा खसि, ३ वटा बोका जलेर पुर्ण रुपमा क्षति हुँदा करिब ८ लाख ६५ हजार रुपैँया बराबरको क्षति भएको डिएसपी चापागाईले बताए । उक्त आगलागी अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोली, दमकल, स्थानिय मानिसहरुको सहयोगमा दिउँसो ४स्१५ बजे नियन्त्रणमा आएको थियो ।

त्यस्तै लिम्चुङबुङ गाउँपालिका वडा नंं. ५ चंलाने स्थित हुरुम्वा सामुदायिक जंगलमा लागेको डडेलोको कारण ३ वटा घर जलेर नष्ट भएको छ । आईतबार दिउँसो १ बजेको समयमा जंगलबाट लागेको डडेलो गाउँपस्दा वडा नं. ५ बस्ने वाङ सिंङ राईको ढुङ्गा माटो र फुसको छानो भएको १ तले घरमा आगलागी हुँदा घर, अन्नपात, भाडावर्तन र कागजपत्र समेत गरी ३ लाख रुपैँया बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

सोही वडा बस्ने अर्का बज्रर लक्षि राईको ढुङ्गा माटो र फुसको छानो भएको २ तले घरमा आगलागी हुँदा घर, अन्नपात, भाडावर्तन र कागजपत्र समेत गरेर २ लाख ५० हजार रुपैँया बराबरको क्षती भएको र कुमार राईको ढुङ्गा माटो र फुसको छानो भएको १ तले मतान घरमा आगलागी हुँदा मतान भित्र भएको अन्नपात, भाडावर्तन समेत गरेर १ लाख बराबरको क्षती भएको डिएसपी चापागाईले बताए । उक्त आगलागी ईप्रका लिम्चुङबुङबाट खटिएको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा दिउँसो ४ बजे नियन्त्रणमा लिईएको थियो ।