
पूर्णपुष्टि, साउन २९ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशका घटनाहरू उल्लेखनीय रूपमा वृद्धि भएको छ। स्थानीयवासीका अनुसार जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडे लगायत राजाबास गैरुन, असारी र लक्ष्मीपुर क्षेत्रमा सर्पको उपस्थिति बढेको छ।
नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रका अनुसार करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएका छन्। उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीका अनुसार हाल त्रियुगा नगरक्षेत्रबाट दैनिक ५ देखि ६ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आउने गरेका छन्। स्थानीय ज्ञानबहादुर बस्नेतका अनुसार धेरैजसो सर्पदंशका घटनाहरू रातिको समयमा खेतमा पानी लगाउन जाने, घरवरपर काम गर्ने, र गोठमा साँझ बिहान काम गर्ने व्यक्तिहरूमा देखिएको छ।
उपचार केन्द्रका अध्यक्ष गिरीले थप जानकारी दिँदै भनिन्, “साउनको पहिलो सातादेखि तेस्रो सातासम्ममा १५० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ र सबै बिरामीहरू निको भएर घर फर्किएका छन्।” स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले नागरिकहरूलाई सतर्कता अपनाउन र आवश्यक सावधानीहरू अपनाउन आग्रह गरेका छन्। साथै, सर्पदंश भएको खण्डमा तत्काल नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा सम्पर्क गर्न सुझाव दिइएको छ।
