
पूर्णपुष्टि, साउन २३ । उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चोकमा जन्मदिनको भोज खाएपछि २७ जना मानिस बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार राति ९ बजे जितेन्द्र राईको घरमा जन्मदिनको अवसरमा आयोजित भोजमा सहभागी भएका मानिसहरूलाई झाडापखाला र बान्ता लागेको हो ।
बिरामी परेकाहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन् । सबैलाई बिहिबार राति ८ बजे जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको थियो । भोजमा रोटी, अचार, पुरी, बुनिया, पुवा लगायतका परिकारहरू सेवन गरेका थिए । अस्पतालका अनुसार २६ जना बिरामी डिस्चार्ज भइसकेका छन् भने एक जना बालकको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । खाद्य विषाक्तताको कारणले गर्दा बिरामी परेको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
