Wednesday, June 17News That Matters

उदयपुरमा नयाँ सिडियो आएसंगै नागरिक सहायता कक्ष सञ्चालन, निःशुल्क निवेदन लेखिने

पूर्णपुष्टि/उदयपुर, असार ३
जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवाग्राहीलाई सहज, प्रभावकारी, प्रविधिमैत्री तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरभित्र नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको आगमनसंगै नागरिक सहायता कक्ष स्थापना भएको हो । प्रशासन कार्यालयबाट सेवा लिन आउने तर निवेदन लेख्न नजान्ने वा नसक्ने सेवाग्राहीका लागि सहायता कक्ष मार्फत निःशुल्क निवेदन लेखिदिने सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ ।
विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायतका सेवाग्राहीलाई लक्षित गरी उक्त सेवा सुरु गरिएको प्रजिअ मगरातीले बताउनुभयो । प्रशासन कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई नागरिक सहायता कक्षमा सम्पर्क गरी निःशुल्क सेवा लिन सुचना जारी गरी अनुरोध गरेको छ ।