
पूर्णपुष्टि, उदयपुर । १९ कार्तिक २०८३
नेपाली कम्युनिष्ट पार्टी उदयपुरले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत घरदैलो तथा जनसंवाद कार्यक्रम सञ्चालन गरी नागरिकका दैनिक जनजीविका र स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाइने पार्टीले जनाएको छ ।
अभियानबारे जानकारी दिन पार्टीले बिहिबार जिल्ला सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको हो । पार्टीको कार्तिक १७ गते सम्पन्न बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा नेता जगन्नाथ खतिवडाले गरिसकेको पार्टीले जनाएको छ ।
अभियानअन्तर्गत पार्टीका नेता तथा कार्यकर्ता टोलटोल र घरघरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या पहिचान गर्ने तथा जनताका माग र दैनिक जीवनसँग जोडिएका मुद्दा सङ्कलन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालगायतका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै केन्द्र, प्रदेश र स्थानीय सरकारसमक्ष ज्ञापनपत्र बुझाउने पार्टीको तयारी छ । अभियानका क्रममा श्रम तथा जनसेवासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने प्रेस वक्तव्यमा उल्लेख छ ।
राजनीतिक तथा सङ्गठनात्मक कार्यक्रमअन्तर्गत सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने, जिल्लाका आठवटै पालिकामा राजनीतिक तथा वैचारिक प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ । वडा तथा पालिका अधिवेशन मंसिर २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पार्टी इन्चार्ज मणि खुम्बु किरातीले जानकारी दिए ।
यसैगरी जनवर्गीय सङ्गठनका बाँकी काम सम्पन्न गर्दै राष्ट्रिय महाधिवेशनका लागि समाजवादको यात्रामा अघि बढ्ने राजनीतिक विचार निर्माण गर्ने पार्टीको योजना रहेको किरातीले बताए ।
अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन नेताहरूको कार्यविभाजनसमेत गरिएको पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमार्फत पार्टीले तिहार, छठ तथा नेपाल संवत लगायतका चाडपर्वको अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।
