
पूर्णपुष्टि, भाद्र २८ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ९ लालाभित्तेमा आज एक व्यक्तिको सिंचाईको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय वडा अध्यक्ष प्रकाश राउतका अनुसार अत्याधिक गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी ६५ वर्षीय गोरेमान राईको दुर्घटनावश मृत्यु भएको हो।
मृतक राई लगभग २५-३० वर्षदेखि भारतमा बस्दै आएका थिए र एक वर्ष अघि मात्र लालाभित्तेमा फर्केर आफ्ना दाजु सिताराम राईको घरमा बस्दै आएका थिए। स्थानीयका अनुसार राई अविवाहित थिए। घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
