Friday, May 1News That Matters

उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

पूर्णपुष्टि, भाद्र २८ । नेकपा एकीकृत समाजवादीको सन्देश सभा आज उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा सम्पन्न भएको छ। “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले सही मार्ग नअपनाएको आरोप लगाए। उनले एमालेमाथि संविधानको मूल मर्म कुल्चने र दक्षिणपन्थी विचारधारामा भासिएको आरोप लगाउँदै भने, “सामूहिकता, विधि र न्यायलाई बिर्सेर व्यक्तिको पेवा बनाउन खोजिएको छ।” नेपालले आफूहरूले नयाँ पार्टी खोल्नुको कारण बताउँदै एमालेले बाटो बिराएकैले सबैको न्यायका लागि समाजवादको बाटो रोजेको उल्लेख गरे।

यस सन्देश सभामा जिल्ला, प्रदेश र केन्द्रीय पार्टी पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न पार्टीबाट करिब ५०० जनाले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए। नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशन पश्चात् देशभर समाजवाद जागरण अभियानमार्फत पार्टी सुदृढिकरण तथाविस्तार थालेको छ ।