Thursday, May 21News That Matters

उदयपुरमा बिहे गरेको छ महिना पछि श्रीमती पुरुष, प्रहरीमा उजुरी

पूर्णपुष्टि, ८ असार ।
उदयपुरको बेलका नगरपालिकामा श्रीमती पुरुष भएको भन्दै प्रहरीमा उजुरी दिएको छ । उनले इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको हो । बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि भोजपुरबाट बिबावह गरेका थिए । तर उनको श्रीमती ६ महिनापछि पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन् ।

राईले ‘श्रीमती पुरुषमा परिणत भएको’ भन्दै प्रहरीमा उजुरी दिएको जनाए । भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका नम्वरले ६ महिनापछि आफ्नै श्रीमतीलाई पुरुष पाएको बताए । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर राईले उजुरी दिएको जनाए ।

इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती अस्वस्थ्य भएपछि उपचारार्थ धरान पठाइएको छ। घट्नाको वास्तविकता पत्ता लगाउन छलफल गराउने तयारी भइरहेका बेला एक्कासि श्रीमती बेहोस भएर बोमिट गरेपछि नगर अस्पताल पठाएकोमा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) धेरै देखिएपछि एम्बुलेन्समार्फत बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खट्ने प्रहरीका अनुसार महिला बन्ने व्यक्ति ३१ वर्षीय राजु राई हुन्। झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने उनी वास्तवमा भने पुरुष भएको अनुसन्धानबाट खुलेको छ।

‘शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उनी पुरुष प्रमाणित भए’ अनुसन्धानमा खट्ने प्रहरी भन्छन् ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन।’

प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। तर, नगरपालिका नीति कार्यक्रम बनाउने चटारोमा रहेको र वास्तविकता पत्ता लगाउन प्रहरीको सहयोग चाहिने भन्दै न्यायिक समितिले इप्रकामा पठाएको थियो।

अहिलेसम्म सँगै घरजम गरिबसेका उनीहरु ६ महिनासम्म ओछ्यान साझा नगरेपछि श्रीमान्लाई शंका लागेर गोप्य डिठ्याउँदा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि प्रहरी गुहार्न आएको बताइएको छ।

बेलका ६ का वडाध्यक्ष वसन्त मगरले महिलाको भेषमा राजुले ठगी गर्न बिहेको नाटक गरेको हुनसक्ने बताए। मगरका अनुसार राजुले नम्बरसँग प्रेमको नाटक गर्दै सुरुमै केही रकम लिएको र ६ महिनाअघि बिहेको नाटक गरेका थिए।

बिहे गरेर घर आए पनि किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमान्सँग अलग रहँदै आएको रहस्य अहिले खुलेको वडाध्यक्ष मगरले बताए।

घर भित्र्याएको ६ महिनासम्म ओछ्यान साझा नगरेपछि गोप्य अनुसन्धान गर्दा उनको असली रहस्यको पर्दा खुलेको हो। वडाध्यक्ष मगरका अनुसार नक्कली श्रीमती राजुले नम्बरको २ लाख ७० हजार रकम हिनामिना गरेको खुलेको छ।