
पूर्णपुष्टि, भदौ ९ । उदयपुरका युवाहरूले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको दुरुपयोग रोक्न निगरानी अभियान शुरू गरेका छन्। शनिबार दिउँसो १ बजेदेखि परिचालित युवा टोलीले मदन भण्डारी लोक मार्ग अन्तर्गत सदरमुकाम गाईघाटदेखि संगम चोकसम्म निगरानी गरेको थियो।
निगरानीका क्रममा टोलीले ६ वटा सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा चलाइरहेको फेला पारेको छ। फेला परेका सवारी साधनहरूमा को १ ब १९३२, स १ ब ८६८, स १ ब १२५०, स १ ब ०२१६, स १ ब १४१२, प्र १–०२–००१ ब ३३६५ र प्र १–०५–००१ नम्बरका मोटरसाइकलहरू रहेका छन्।
टोलीका सदस्य लक्ष्मण राईका अनुसार फेला परेका सवारी साधनमा त्रियुगा नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरू सवार थिए। केही चालकहरूले भाग्ने प्रयास गरेपछि टोलीले लामो दूरीसम्म पछ्याएर सोधपुछ गरेको थियो। सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न युवाहरू नै अगाडि बढ्नुपर्ने खाँचो महसुस गरेर यो अभियान थालेको राईले बताए। उनका अनुसार पहिलो पटक सम्झाएर छाडिएको छ, तर फेरि यस्तो गरेको भेटिए कडा कारबाही गरिने चेतावनी दिइएको छ।
निगरानी टोलीमा लक्ष्मण राई, टीकाराम राई, भुवन राई, नारायण दाहाल, देशकुमार राई, सुरेन्द्र राई, सुशन दाहाल, वीरशेर राई र नयन राई सहभागी थिए। टोलीले आगामी सार्वजनिक बिदाका दिनहरूमा पनि यस्तै निगरानी अभियान जारी राख्ने जनाएको छ।
