Friday, July 17News That Matters

उदयपुरमा लगातार तीन बालिका बलात्कृत, दुई गर्भवती

पूर्णपुष्टि, फागुन ९ ।
उदयपुरमा तीन दिनको अवधिमा लगातार तीन बालिका बलात्कृत भएको घटना सार्वजनिक भएका छन् । फागुन ५ देखिको लगातार तीनदिन यता बलात्कारको घटना सार्बजनिक भएका हुन् । तीन घटनामध्ये दुई बालिका गर्भवती भइसकेको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
प्रनाउ गौतमका अनुसार तीनै घटना नजिकको साइनो पर्ने आफन्तबाट बलात्कार भएका हुन् । झड्केली छोरी सौतेलो बाउबाट, भतिजिनी आप्mनै काकाबाट र साली आप्mनै भेनाबाट बलात्कारमा परेको घटना बाहिर आएको हो । जिल्लाको बेलका नगरपालिकामा सौतेलो बाउबाट १४ वर्षीया झड्केली छोरी, उदयपुरगढी गाउँपालिकामा भेनाबाट १६ वर्षीया साली र त्रियुगा नगरपालिकामा काकाबाट ११ वर्षीया भतिजिनी बलात्कारमा परेका हुन् ।
यी तीन घटनामध्ये पटक–पटक बलात्कारको सिकार बनेका झड्केली छोरी र साली गर्भवतीको अवस्थामा छन् । एकजना चार महिना र अर्को जना सात महिनाको गर्भवती रहेको बुझिएको छ । तीनै घटनाका आरोपित पुरुषहरुलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी बढाएको जनाएको छ । प्रहरीले पिडित पक्षको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानबाट तीनै घटना प्रलोभन र धम्की दिएर पटक–पटक बलात्कार भएको पाइएको प्रहरीको भनाई छ । यी घटनाबाट कलिलो उमेरका बालिकाहरु प्रलोभन र धम्कीमा परेर बलात्कारको सिकार हुने गरेको देखिएको छ ।
प्रनाउ गौतमका अनुसार झडकेली छोरीलाई गर्भवती बनाएर प्युठानबाट बेलका नगरपालिकामा ल्याएर लुकाईछुपाई राखेको अवस्थामा सौतेलो बाउ पक्राउ गरिएको र पटकपटक बलात्कार गरी गर्भवती बनाउने भेना फागुन ६ गते, भतिजिनी बलात्कार गर्ने काकालाई फागुन ५ गते गाउँबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्शिलाले पक्राउ गरेको सौतेलो बाउलाई कारवाहीका लागि प्याठान प्रहरीमा पठाइएको छ भने बाँकी दुईजनालाई जिल्ला प्रहरी कार्यालयबाट कारवाही अगाडी बढाइएको छ ।
बलात्कारका घटनाहरु लगातार सार्बजनिक भएपछि उदयपुरमा यस्ता घटना बढि भइरहेको संकेत गरेको छ । समाजमा गुपचुप हुन नसकेर सार्बजनिक भएका घटनाहरु मात्र प्रहरीसम्म आइपुग्ने गरेका छन् । यस्ता घटना प्रहरीमा उजुरी गर्नुभन्दा गाउँमै गुपचुप मिलाउने प्रयास अझै पनि ब्यप्त रहेको महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरकी संयोजक पम्फा पुरीले बताउनुभयो । समाजले बलात्कारमा परेका महिलाहरुमाथि गर्ने गलत दृष्टिकोण, पिडितको न्यायमा कमजोर पहुँच र न्यायिक प्रक्रियासमेत झन्जटिलो भएकाले पिडित आफैलेसमेत घटना बाहिर ल्याउन नचाहने गरेको पाइएको छ । गरिबी, अशिक्षा जस्ता कुराले अभिभावकबाट वालिकाहरुको राम्रो रेखदेख हुन नसक्दा, शिक्षा र चेतना दिन नसक्दा बालिका तथा किशोरीहरु जोखिममा रहेका छन् । सामाजिक सञ्जालमा बढ्दो अश्लिलता र पिडकले सजिलै उन्मुक्ती पाउने जस्ता कारणले पनि उनीहरु जोखिममा परेका छन् । यस्ता अपराधबाट समाजलाई मुक्त बनाउन सामाजिक अभियानता, सञ्चारकर्मी, प्रहरी, प्रशासन, राजनीतिक दल सबै पक्षले गम्भिरतापूर्वक लाग्नुपर्ने महिला मानवअधिकारकर्मी महेश्वरी राईले बताउनुभयो ।
चालु आर्थिकवर्ष सुरुयता जिल्लामा २१ बलात्कारका घटना जिल्ला प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये १० वर्ष मुनी उमेरका दुई, १० देखि १८ वर्ष उमेर समुहका आठ र १८ वर्ष माथिका एघार वटा बलात्कारका घटना भएका छन् । त्यसमध्ये अधिकांश आफन्तबाट बलात्कारमा परेको प्रहरीले जनाएको छ ।