
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारी स्थितमा गुडिरहेको स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कृष्ण बस्नेतको ९ बर्षीय छोरा सफल बस्नेत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो ४ बजे स्कुल छुट्टि भएपछि जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट सोही बोर्डिङमा अध्ययनरत बालक अचानक खसि घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको सूचना पाएलगत्तै तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटि गई लाशको कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको प्रहरीले जनाएको छ । बस चालक बेलका–८ सिसौली बस्ने ३४ बर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
