
- पूर्णपुष्टि संवाददाता
- १९ असोज २०८३ । उदयपुर
गाईघाट । जिल्ला आयुर्वेद अस्पताल उदयपुरमा बालबालिकाको स्वास्थ्य तथा सर्वांगीण विकासलाई लक्षित गर्दै स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको छ।
आयुर्वेद चिकित्सा पद्धतिमा बालबालिकाको शारीरिक तथा मानसिक विकास, पाचन प्रणाली सुदृढीकरण र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले स्वर्ण बिन्दु प्राशन गराइएको अस्पताल प्रमुख डा.गम्भिर झाले बताए।
स्वर्ण बिन्दुमा तोकिएको मात्रामा स्वर्ण भस्म, मह र ब्राह्मी घृतलाई विधिपूर्वक मिश्रण गरी तयार गरिएको अर्धतरल पदार्थ प्रयोग हुने बताउदै डा.झाले भने आयुर्वेदमा बालरोगसम्बन्धी ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा समेत स्वर्ण बिन्दु प्राशनको उल्लेख रहेको बताइएको छ।
अस्पतालका अनुसार ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी तथा आपत्कालीन अवस्था भएका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराउनु हुँदैन। प्राशनपछि करिब आधा घण्टासम्म बालबालिकालाई केही खुवाउन नहुने तथा कुनै असामान्य प्रभाव देखिएमा चिकित्सकसँग तत्काल परामर्श लिनुपर्ने जनाइएको छ।
स्वर्ण बिन्दु प्राशन नियमित खोपको विकल्प नभएकाले बालबालिकालाई सरकारले तोकेको नियमित खोप अनिवार्य रूपमा लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साथै बालबालिकालाई सन्तुलित आहार दिनुका साथै मोबाइल तथा टेलिभिजनको प्रयोग कम गरी बाह्य खेलकुदमा सक्रिय गराउन सुझाव दिइएको छ।
