Friday, April 17News That Matters

उदयपुरमा २ लाख २३ हजारले मतदान गर्न पाउने

पूर्णपुष्टि, चैत १७ ।
वैशाख ३० मा तोकिएको स्थानीयतहको निर्वाचनका लागि उदयपुरमा दुई लाख २३ हजारले मतदान गर्न पाउने छन् । चुनावको अघिल्लो दिन ०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुरा गरी भोट लाउन पाउनेको संख्या दुई लाख २३ हजार एक सय ३८ जना पुग्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीयतहमा मतदानस्थल ९८ ठाउँ रहनेछन् । त्यस्तै मतदान केन्द्र्र दुई सय ५८ वटा रहने निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । उनका अनुसार मतदाताको संख्या महिलाभन्दा बढी पुरुष रहेका छन् । महिला एक लाख दश हजार दुई सय ५१ रहदा पुरुष मतदाता एक लाख १२ हजार आठ सय ८५ छन् । तेस्रो लिङ्गी (अन्य) मतदाता २ जना रहेको उनले बताए ।
सबभन्दा बढी मतदाता सदरमुकाम त्रियुगा नगरपालिकामा छन् भने सबभन्दा कम लिमचुङबुङ गाउँपालिकामा रहेको छ । त्रियुगामा २९ हजार छ सय ९३ महिला, ३० हजार तीन सय ५१ पुरुष तथा दुई अन्य गरी ६० हजार ४६ मतदाता छन् । २५ मतदानस्थल रहेको त्रियुगामा ७० मतदान केन्द्र तोकिएको छ ।
दोस्रो ठूलो मतदाता रहेको चौदण्डीगढी नगरपालिकामा ३८ हजार चार सय ९४ मतदाता छन् । १८ हजार आठ सय ८३ महिला र १९ हजार छ सय ११ पुरुष मतदाता रहेको चौदण्डीगढीमा १६ मतदातस्थल र ४६ मतदान केन्द्र रहने निर्वाचन कार्यालयको भनाई छ । त्यस्तै, कटारी नगरपालिका तेस्रो धेरै मतदाता रहेको स्थानीयतह हो ।
कटारीमा १८ हजार आठ सय ५८ महिला र १८ हजार पाँच सय ८८ पुरुष गरी ३८ हजार छ सय ११ मतदाता छन् । कटारीमा १५ मतदानस्थल र ४३ मतदान केन्द्र रहनेछ । कान्छो नगरपालिका बेलकामा २३ हजार छ जना मतदाता छन् । १६ हजार छ सय ९६ महिला र १६ हजार तीन सय १० पुरुष मतदाता रहेको बेलाकामा नौँ मतदानस्थल र ३५ मतदान केन्द्र रहनेछन् ।
गाउँपालिकातर्फ सबभन्दा कम मतदाता लिमचुङबुङमा आठ हजार चार सय ९४ जना छन् । चार हजार चार सय १५ महिला र चार हजार ७९ पुरुष मतदाता रहेको लिमचुङब्ङमा सात वटा मतदानस्थल र १२ मतदान केन्द्र रहने बताइएको छ ।
उता ताप्ली गाउँपालिकामा पाँच हजार एक सय आठ महिला र चार हजार आठ सय २३ पुरुष गरी जम्मा नौँ हजार नौँ सय ३१ म्तदाता छन् । ताप्लीमा पनि मतदानस्थल सात र मतदान केन्द्र १२ रहनेछ ।
रौतामाई गाउँपालिकामा सात हजार पाँच सय ८५ महिला तथा छ हजार आठ सय ८४ पुरुष मतदाता छन् । आठ वटा मतदानस्थल र १७ वटा मतदान केन्द्र रौतामाईमा रहने निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिकातर्फ सबभन्दा बढी मतदाता उदयपुरगढीमा छन् ।
महिला १० हजार छ सय ४७ तथा पुरुष नौँ हजार छ सय पाँच मतदाता रहेको उदयपुरगढीमा २० हजार दुई सय ५२ मतदाता छन् भने ११ मतदानस्थल र २६ मतदान केन्द्र रहनेछ । निर्वाचन कार्यालयले चुनावका लागि आवश्यक सबै तयारी गरिरहेको अधिकारी कोईरालाले बताएका छन् ।