
पूर्णपुष्टि, मंसिर ३०
नेपालमा कोरोना विमा भुक्तानी बृद्धि भएको छ । सामान्यतया महामारी र युद्धको बीमा नहुने विश्वव्यापी प्रचलन छ । तर यो प्रचलनलाई बेवास्ता गर्दै नेपालमा शुरु गरिएको कोरोना बीमा पोलिसीका कारण बीमा कम्पनीहरुले निकै आलोचना खेपिरहेका छन् ।
पछिल्लो समय कोरोना विमा भुक्तानीको रकम विमा कम्पन्नीहरुले थुप्रै वेहोर्नु परेको छ । संक्रमणको संख्या बृद्धि र कोरोना विमा संख्याको बृद्धि भएपछि अबौँ माथी भुक्तानी विमा कम्पनीहरुले बेहोर्नु परेको हो ।
कोरोना विमा गर्ने करिब ११ हजार भन्दा बढी संक्रमितले भुक्तानी पाएका छन् । ११ हजार संक्रमितहरुले करिब १ अर्ब ७ करोड ४५ लाख ५० हजार बराबरको भुक्तानी बुझि सकेका छन् ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरामण पौडेलका अनुसार पछिल्लो केही दिनयता भुक्तानीको दर निकै बढेको बताउनुभयो ।
सोमबारसम्म मात्रै ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी बुझिसकेको र मंगलबार पनि १ हजार ६ सय ३८ जनाले भुक्तानी पाउने प्रक्रियामा रहेको निर्देशक पौडेलले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका कम्पनीहरुले भुक्तानीमा ढिलाइ गरे । भुक्तानीमा ढिलाइ गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिनुभयो ।
त्यो निर्देशन बीमा कम्पनीहरुले कार्यान्वयन गर्न सकेनन् । त्यसपछि पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले निर्देशन दिएको थियो । अर्थमन्त्रीको निर्देशनपछि पनि निकै ढिला भुक्तानी भइरहेको थियो ।
पछिल्ला दिनहरुमा भने भुक्तानीको दर बढेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेको भनाई छ । यसअघि कागजातहरु भेरिफिकेशन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने उनको भनाइ छ । थोरै ढिला भए पनि सबै बिमितहरुले बीमा गरेअनुसारको रकम पाउने उहाँले बताउनुभयो ।
बिमा समितिका निर्देशक पौडेलका अनुसार पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना पुगेको छ ।
यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इडीसीडीमा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । इडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।
मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको फाइल कागजातहरु पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका छन् । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेश लगायतका समस्याहरु देखिएका छन् ।
