
पूर्णपुष्टि, फागुन १६ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठुलो सम्मान कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत थप चार विधाको मनोनयन सार्वजनिक भएको छ । हरेक बर्ष प्रदान गर्दै आएको स्पोर्टस अवार्डमा यस पटक पनि फुटबल र क्रिकेटको खेलाडी हाबि भएका छन् ।
मंगलबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्चले बर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । बर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दिपेन्द्र शिंह ऐरी, फुटबलका अन्जन बिष्ट, किरण चेम्जोङ र ब्याटमिन्टनका प्रिन्च दाहाल परेका छन् । फुटबलका अन्जन पिपुल च्वोईस अवार्डमा समेत मनोनयमा परेका खेलाडी हुन् ।
उत्कृष्ट महिला खेलाडी तर्फ भलिबलकी अरुना शाही, क्रिकेटकी रुबिना क्षेत्री, सिता राना मगर, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेकी छन् । यस्तै बर्षका युवा खेलाडीमा फुटबलका मनिस डाङ्गी, प्रिति राई, बक्सिङका छिरिङ शेर्पा, ब्याटमिनटनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् ।
यस्तै बर्षको उत्कृष्ट प्रशिक्षक तर्फ फुटबलका अब्दुल्ला अलमुताईरी, क्रिकेटका प्रशिक्षक देव वाटमोर बक्सिङका दिपक महर्जन, पारा तेक्वान्दोका कबिराज नेगी लामा र भलिबलका जगदिश भट्ट मनोनयनमा परेका हुन् । यि बाहेक मञ्चले स्पेशल अवार्ड, लाईफ टाई अचिभमेन्ट अवार्ड र एसिएन स्पोर्टस जर्नलिष्ट अवार्ड पनि प्रदान गर्दै आएको छ भने सो अवार्ड घोषणा फागुन २३ मा प्रज्ञा भवनमा हुने कार्यक्रममा नै गरिने मञ्चले जनाएको छ ।
बर्ष खेलाडी पुरुष, महिला, बर्षका युवा खेलाडी, पिपल च्वोईस र प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाईकल प्रदान गरिने छ भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैया नगद प्राप्त गर्ने छन् ।
