
पूर्णपुष्टि, १० फागुन ।
नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र बनाइएको छ । चैत १३ र १४ गते हुने अधिवेशनका लागि आठ पालिका, ७५ वडा, सल्लाहकार कमिटी र २३ वटा जनसंगठनबाट प्रतिनिधि चयन भईसकेका छन् ।
प्रतिनिधि चयन भएसँगै एमालेले तयारीलाई तिव्र बनाएको हो । अधिवेशनलाई भव्य बनाउन जिम्वेवारी वाँडफाँट अन्र्तगत १२ वटा उपसमिति निर्माण गरी परिचालन गरिएको अध्यक्ष परमेश्वर घिमिरेले बताए । सबै समितिले जिम्वेवारी अनुसार बैठक बसी तयारी थालेको उनले बताए ।
पार्टी अध्यक्ष केपीशर्मा ओलीले उदघाट्न गर्ने अधिवेशनमा सबै क्षेत्रबाट ६०३ जना प्रतिनिधिले सहागिता रहने उनले बताए । उनका अनुसार जिम्वेवारी वाँडफाँट अन्र्तगत राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष परमेश्वर घिमिरे रहेको चार सदस्य, आर्थिक उपसमितिमा उपसचिव भरतबहादुर थापा, प्रतिनिधि व्यवस्थापन उपसमितिमा उपसचिब टेकबहादुर राउत, प्रचार प्रसार उपसमितिमा भरत खड्कालाई संयोजकको जिम्वेवारी दिइएको छ ।
त्यसैगरी खाद्यान्न तथा आवास महेश रोका, स्वयंमसेवक परिचालमा मन्दिप राई, अतिथि सत्कारमा मणिकादेवी दुलाल, हल तथा मंच व्यवस्थापनमा शिव रेग्मी, स्वास्थ्य व्यवास्थापनमा महेश्वरी राईको नेतृत्वमा उपसमिति गठन गरिएको छ ।
त्यस्तै यातायात व्यवस्थापनमा शशिकुमार राईको नेतृत्वमा बीस सदस्य र कालुमान लामा नेतृत्व रहेको ७६ सदस्य जनपरिचालन समिति गठन गरिएको उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित रहने उपसचिब भरतबहादुर थापाले बताए ।
