Monday, September 28News That Matters

एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

पूर्णपुष्टि / उदयपुर, ११ असोज ।

उदयपुरमा जारी एलेभेन स्टार च्यालेन्ज कप–२०८३ को उपाधि गाईघाट युनाइटेड एफसीले जितेको छ।
त्रियुगा नगरपालिका–१० बोक्सेमा शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड एफसीले सलिना स्पोर्ट्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतिस्पर्धात्मक फाइनलमा गाईघाट युनाइटेडका लागि दिलीप राई, चुडा मगर र सुनील खड्काले एक–एक गोल गरे। यस्तै, सलिना स्पोर्ट्सका पृथ्वी मगर र निश्चल आलेले एक–एक गोल गरे।
प्रतियोगितामा उदयपुरका विभिन्न क्षेत्रबाट ८ टोलीको सहभागिता रहेको थियो। फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गाईघाट युनाइटेडले तीन गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
प्रतियोगितामा दिलीप राई सर्वाधिक गोलकर्ता, रोशन मगर उत्कृष्ट गोलकिपर, रिक्की थापा मगर उत्कृष्ट मिडफिल्डर र चुडा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, विशाल राई उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले नगद पुरस्कारसहित मेडल प्राप्त गरे।
उपाधि विजेता गाईघाट युनाइटेड एफसीले ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सलिना स्पोर्ट्सले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि समाजसेवी भागवत राउतले स्थानीयस्तरमा फुटबल खेलको विकाससँगै युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए।